१५ बैशाख २०८१, शनिबार

तीन दलको दाबी गृह मन्त्रालयमा

Deuba Prachand Madhav Nepal

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनका लागि सत्ता गठबन्धनका मुख्य दलहरूबीच महत्वपूर्ण मन्त्रालय लेनदेनको प्रतिस्पर्धा चल्ने भएको छ । प्रधानमन्त्री दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा मन्त्रालयमध्ये गृह, अर्थलगायतका महत्वपूर्ण मन्त्रालयमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् ।

गृहमा नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेको भए पनि अहिलेको गठबन्धन बनाउन महत्वपूर्ण भूमिका रहेको र शक्ति सन्तुलनका सबै छाडेको भन्दै नेकपा एसले दाबी छाडेको छैन । गत पुस १० मा बनेको एमालेसहितको सात दलीय गठबन्धनले आफूहरूलाई बाहिर राखेर र माओवादीलाई मात्रै एमालेसँग टाँसिन गएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँगै असहमति जनाउँदै आएका थिए ।

पछिल्लो आठ दलीय गठबन्धन निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबीसहित नेकपा एसले सरकारमा महत्वपूर्ण मन्त्रालय बार्गेनिङ गर्दै आएको छ । यद्यपि, नेकपा एसलाई गृह र अर्थबाहेकका मन्त्रालय दिने विषयमा कांग्रेस र माओवादी नेताहरू सहमत छन् । यी दुई मन्त्रालय कांग्रेस र माओवादीले नै राख्ने माओवादीका एक नेताले बताए ।

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग सरकार विस्तार र विश्वासको मत लिने विषयमा गरेको छलफलका क्रममा नेपालले गृह मन्त्रालसहित चार मन्त्रीको दाबी गरेका छन् ।

त्यसैलाई पछिल्लो शक्ति बाँडफाँटमा बटम लाइन बनाउने र तीनवटासम्म मन्त्रालय लिने रणनीतिमा नेकपा एस रहेको बताइएको छ । संसद्मा सिट १० रहे पनि चार मन्त्री मागेपछि नेपालको बार्गेनिङ ठूलो भएको गठबन्धनका नेताहरू बताउँछन् । १० सिट भएको दलले चार मन्त्रालय पाउँदा ८९ सिट भएको कांग्रेसले कति पाउने भन्ने प्रश्न गठबन्धन दलका शीर्ष नेतृत्वमा बज्रिएको छ ।

संविधानमा २५ भन्दा बढी मन्त्रालय बनाउन नपाउने र अहिले २२ वटा मन्त्रालय रहेको अवस्थामा नेकपा एसले ४ मन्त्री मागेपछि अरू दललाई कति मन्त्री दिने भन्नेमा प्रधानमन्त्री प्रचण्ड अन्योलमा परेका छन्। ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थसहित ९–१० मन्त्रालय कांग्रेसले दाबी गरिरहेको छ ।

उता माओवादी नेताहरूको पनि गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने दाबी गर्दै आएको आजको नेपाल समाचारपत्र दैनिकबाट