१६ बैशाख २०८१, आईतवार

एउटा लडाइँ जितेँ, सम्पूर्ण युद्ध भने जित्न बाँकी छ : प्रचण्ड

Prachanda 1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादविरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताएका छन्।

नेकपाको भातृसंगठन आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणासभा तथा सपथ ग्रहण समारोहमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालमा जातीय र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेको भन्दै उनले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको उल्लेख गरे ।

वर्गीय र जातीय मुक्तिको अन्तरसम्बन्धलाई ठीक ढंगले परिभाषित गरेर अघि नबढेसम्म जनवादी क्रान्तिले पूर्णता नपाउने भन्दै उनले समाजवादी क्रान्तिको आधार पनि तयार नहुने बताए ।

उनले भने ‘हामी अझै एकताबद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ।’ जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम मात्र हुन जाने उनको भनाई थियो। ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ।’

PRACHAND

अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिबीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताए। उनले अगाडि भने, ‘तर कम्युनिस्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जुवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा विल्कुल फरक कुरा हो। यही निर कहिले काँही बुद्धिजीविहरु पनि भ्रममा पर्ने गर्दछन्।’

जातीय हक अधिकार साप्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउनुहुँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको प्रचण्डले स्पष्ट पारे। ‘जबसम्म वर्गीय मुक्ति र जातीय मुक्तिको ठीक ढंगले परिभाषित गरेर अगाडि बढिदैन, न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ’ प्रचण्डले भने ‘त्यसकारण कम्युनिस्ट पार्टीको निम्ति र माक्र्सवादीहरुको निम्ति निकै ठूलो सैद्धान्तिक र रणनैतिक महत्वको प्रश्न हो।’

सो अवसरमा अध्यक्ष दाहालले नवगठित कार्यसमितिलाई शपथ खुवाएका थिए । तत्कालीन नेकपा (एमाले) को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र नेकपा (माओवादी केन्द्र) आदिवासी जनजाति राष्ट्रिय महासङ्घबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासङ्घ नेपाल बनेको हो ।