१६ चैत्र २०८०, शुक्रबार

आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति

aastha raut

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई हिरासतमै राख्न अनुमति दिएका हुन् । प्रहरीले गायिका राउतलाई सात दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन्।

सुरक्षा जाँचका क्रममा प्रहरीले ज्याकेट फुकाल्न भनेपछि राउत र प्रहरीबीच भनाभन भएको थियो।

त्यसपछि झापाको भद्रपुर पुगेपछि आस्थाले प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभ गरी तथानाम गाली गरेकी थिइन्।

उनको भिडियो सार्वजनिक भएपछि प्रहरीले विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो। त्यसपछि राउतले फेसबुक लाइभमार्फत माफी मागेकी थिइन्।

उजुरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । आस्था आइतबार आफैं अभिभावकका साथ महानगरीय प्रहरी परिसर पुगेकी थिइन् ।