१६ बैशाख २०८१, आईतवार

गायिका आस्था राउत पक्राउ

aastha raut

गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच केही दिनअघि भएको विवादमा माघ ५ मा प्रकाउ पुर्जी जारी गरिएको थियो ।

आफूविरुद्ध पक्राउ पूजी जारी भएपछि आज विहान नै उनलाई आफन्तले लिएर प्रहरी कार्यालय पुगेका हुन् । उनी उपस्थित भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएर हिरारतमा लिएको थियो।

विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो ।

आस्था राउतलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गर्ने म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ)  लैजाँदै छ।

भएको के थियो ?

१ माघमा काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।

उनलाई प्रहरी जवानले ‘तँ’ भनेको भन्दै भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले अगाडि भनेकी छन्, ‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।