२१ बैशाख २०८१, शुक्रबार

बार्सिलोनालाई ३ अंकले पछि पार्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा

real madrid vs valladolid

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भल्लाडोलिडमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।

जस जोरिल्लामा भएको खेलमा घरेलु टोलीलाई हराउन नाचोले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ पनि प्रतिस्पर्धात्मक बनेको थियो। खेलको ७८ औं मिनेटमा नाचोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको क्रसमा हेडिङमार्फत गोल गर्दै डिफेन्डर नाचोले गोल गरेका हुन्।

त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा उनको गोल नै निर्णायक बन्न पुग्यो।

जितसँगै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। जारी सिजन २१ खेल खेलेको मड्रिडको अंकतालिकामा ४६ अंक भएको छ। उसको निकटतम प्रतिद्वन्दी बार्सिलोना समान २१ खेलमा ४३ अंक जोडदै तालिकाको दोस्रो स्थानमा छ। बार्सिलोना पछिल्लो खेलमा भ्यालेन्सियासँग पराजित भएको थियो।

एजेन्सी