१६ चैत्र २०८०, शुक्रबार

आस्था राउतलाई थुन्नु गलत,प्रहरीले अधिकारको दुरुपयोग गरेको छ : कोमल वली

Komal Oli

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सभामा गायिका आस्था राउत पक्राउको विषयलाई उठाउँदै सांसद ओलीले भनिन्, ‘एउटा सामान्य भनाभन भएको घटनालाई लिएर चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिनु गलत हो।’

अनुसन्धानका आधारमा थुन्ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्दामा यस्तो अवस्था नभए पनि थुनामा राख्नु गलत भएको बताए ।

उनले घटना हेर्दा सामान्य देखिएकाले सामान्य तारिखमा बोलाएर राउतलाई सोधपुछ गर्न सकिने बताइन्। ‘घटना हेर्दा गम्भिर फौजदारी अपराध जस्तो लाग्दैन। फौजदारी सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ। त्यसैले गलत ढंगले कानूनको दुरुपयोग भएको छ,’ उनले भनिन्।

गालीगलोज गरेको पनि छैन । अपशब्द पनि गरेको छैन । कानुनले जे जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था किन ?” वलीको प्रश्न थियो ।

प्रमुख जिल्ला अधिकारीले एक वर्ष भन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने भए पनि त्यसो नगरिएको बताइन् ।

“सीडीओले यस्तो सामान्य घटनामा कसरी थुन्ने आदेश दिन सक्छ । उजुरी गर्नासाथ यसरी थुन्ने आदेश दिने हो भने फौजदारी न्यायको मुलमर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ,” वलीले भनिन् ।

सोमबार नै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको मुद्दामा चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

गायिका आस्था राउत भने सोमबार बेलुकी नै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएकी छिन्।

राउतको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए छन ।