१३ बैशाख २०८१, बिहीबार

फागुन अन्तिमसम्म कोभ्याक्स सुविधा मार्फत ‘कोभिशिल्ड’ ल्याउन अन्तिम तयारी

covishield vaccine

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधा मार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधा मार्फत खोप ल्याउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यस अघि नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ । केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्तामा आउने आउने उहाँले बताउनुभयो । सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ ।