११ बैशाख २०८१, मंगलवार

सावधान ! बजारमा कोरोनाविरुद्धको कोभिशिल्डको नक्कली खोप फेला

Covishield Vaccine

भारतमा निर्मित कोभिशिल्डको नक्कली खोप भेटिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार कोभिशिल्डका नयाँ खोप भेटिएका हुन् । डब्ल्यूएचओले विज्ञप्ति मार्फत ती नक्कली खोपहरू भारत र अफ्रिकामा गत जुलाई र अगस्ट महिनामा बरामद गरेको जनाएको छ ।

विज्ञप्तिमा कोभिशिल्ड निर्माता सिरम इन्स्टिच्यूटले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको उल्लेख छ । डब्ल्यूएचओले कोरोनाको नक्कली खोपले विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिंदै त्यस्ता खोपलाई वितरण गर्नबाट रोक्न भनेको बीबीसीले जनाएको छ ।

भारतले भने यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर भारतीय सञ्चारमाध्यमले भने भारतीय स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको जनाएका छन् । कोभिशिल्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोपको अर्को संस्करण हो ।

भारतमा अहिलेसम्म यसको साढे ४८ करोड मात्रा लगाइएको छ । सिरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरूमा कोभ्याक्स सुविधा र सरकारसँगको सम्झौता अन्तर्गत कोभिशिल्ड खोप निर्यात गरेको छ ।