११ बैशाख २०८१, मंगलवार

अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति गठन, निवर्तमान महासचिव सुवेदीलाई स्पष्टीकरण सोधिने

online tv

पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानकारी दिनुभयो ।

सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिनुभयो ।

सङ्घको वार्षिकोत्सव विथोलेको, साधारण सभामा उपस्थित भएर अध्यक्षमा उम्मेदवारी घोषणा गरी कसैले समर्थन नगरेपछि माइन्युट च्यातेको, राजनीतिक हस्तक्षेप गर्न खोजेको, सङ्घलाई प्रतिकुल हुने गतिविधि गरेको र पदाधिकारीबारे झुट प्रचार गरेकोले सङ्घका निवर्तमान महासचिव राजु सुवेदीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

युट्युव, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन मार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो । गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेला अनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ ।

सङ्घका सबै सदस्यले निर्देशिका अनिवार्य पालना गर्नुपर्ने र उनीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार इन्टरनेटको सहयोगमा प्रसारण गरिने युट्युब लगायत माध्यमबाट टेलिभिजन च्यानल सञ्चालन गर्दा नियमानुसार स्वामित्व तथा जवाफदेहिता, सम्पादकीय नीति, स्वार्थ संलग्नता घोषणा, सामाजिक समावेशीकरण र जनशक्तिबारे स्पष्ट रहनुपर्ने निर्देशिकामा लेखिएको छ । सत्य तथ्यमा आधारित रहेर प्रसारण सामग्री तयार पार्ने, सामग्री प्रसारण गर्नु अगावै सत्यपन सुनिश्चित गरेर मात्र प्रसारण गर्ने, शब्द चयन, भाषा गत शुद्धता, सामाजिक सद्भाव लगायत विषयमा विषेश ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारको ‘राष्ट्रिय आम सञ्चार नीति २०७३ को बुँदा नं. १.७ र २.६ ले पत्रकारितालाई स्वनियमन प्रणालीमा प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम स्वनियमन निर्देशिका जारी गरिएको सङ्घले जनाएको छ ।