१३ बैशाख २०८१, बिहीबार

त्रिधार्मिक संरचनाको शिलान्यास

unnamed 7

धार्मिक सहिष्ण्ुाता कायम गर्ने लक्ष्यका साथ यहाँ एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडामा हिन्दू, बौद्ध र किराँत धर्मका छुट्टाछुटै संरचनाको तीन वटै धर्मका धार्मिक गुरुले शास्त्रीय विधिअनुसार शिलान्यास गरेका हुन् ।

स्थानीय तोरण कार्कीले निःशुल्क रुपमा दिएको करिब २० रोपनी क्षेत्रफलमा अरुण बहुउद्देश्य आध्यात्मिक प्रतिष्ठानले मन्दिरसँगै सामुदायिक अतिथिगृहको पनि शिलान्यास गरिएको छ । त्यहाँ निर्माण हुने संरचनाको रु ९२ करोड ९८ लाख १२ हजार ९५४ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको प्रतिष्ठानका अध्यक्ष चूडामणि दाहालले जानकारी दिनुभयो । गुरुकुलको आगामी १० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

हिन्दू धर्मको प्यागोडा शैलीको शिव मन्दिर, बौद्ध धर्मालम्बीको गुम्बा र किराँतको किराँत घर निर्माण हुनेछ । त्यस्तै अतिथि, भक्तजन तथा आमन्त्रितलाई लक्ष्य गरेर बहुउद्देश्य अतिथिगृह, हिन्दू, बौद्ध र किराँत धर्मका ज्ञान लिन आउने विद्यार्थीका लागि छात्रावास, सबै धर्मका सङ्ग्रहालय, खेल मैदान, कबर्ड हल, ध्यान केन्द्र, योग भवनलगायत संरचना बन्ने गरी डिपिआर तयार गरिएको प्रतिष्ठानले जनाएको छ ।

तीनै धर्मका पाठशालासमेत स्थापना हुने जनाइएको छ । पछिल्लो समय धर्मको बहानामा देखिएका समाजमा विखण्डन ल्याउने खालका क्रियाकलाप नियन्त्रण गर्न यसले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । ठूलो रकमको डिपिआर तयार भएकाले रकम जुटाउनका लागि केन्द्र, प्रदेश तथा स्थानीय निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गजेन्द्र कार्कीले भन्नुभयो, “हामीले सबै धर्मबीच सद्भाव स्थापना गर्नका लागि मन्दिर निर्माणको शिलान्यास गरेका छौँ, विस्तृत परियोजना प्रतिवेदनअनुसार यहाँ सबै संरचना निर्माण गर्न निकै धेरै रकमको आवश्यकता देखिएको छ, हामीसँग अहिले धेरै रकम त छैन, तर केन्द्र सरकार, प्रदेश सरकार स्थानीय सरकार तथा अन्य दाताको खोजी गरेर कामलाई सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’’

यसअघि सञ्चालन गरिएका विराट महायज्ञ तथा अरुण सांस्कृतिक महोत्सवबाट सङ्कलन गरिएको रु ५५ लाख लागतबाट संरचनाको निर्माण शुरु गरिएको हो । गाउँपालिकाले ठूलो लक्ष्यका साथ सबै धर्मलाई समेटेर धार्मिक गुरुकुल निर्माण गर्न लागेकाले पौवादुङमा गाउँपालिकाले पनि सहयोग गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।