७ बैशाख २०८१, शुक्रबार

तेस्रोपटक आमनेसामने भएका पूर्वमुख्यमन्त्री राईलाई हराउँदै किराती निर्वाचित

Bhojpur

भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै किराती निर्वाचित भएका हुन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए । त्यस समयमा एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो ।

भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ । २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए ।