१५ बैशाख २०८१, शनिबार

भोजपुर अस्पतालमा दुई करोडको आईसीयू कक्ष प्रयोविहीन, बिरामी अन्त जान बाध्य

bhojpur hospital

भोजपुरमा दुई करोड रुपैयाँभन्दा धेरै लगानी गरेर बनाईएको सघन उपचारकक्ष (आईसीयू) सञ्चालनमा आउन सकेको छैन । आसियु कक्ष निमार्णसंगै उपकरण जडान भैसके पनि आवश्यक दक्ष जनशक्तिको अभावमा सेवा सञ्चालन नहुँदा सेवाग्राहीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

भोजपुरमा संघीय सरकारको करिब दुई करोड रुपैयाँको लागतमा आईसीयूकक्ष तयार भएपनि आवश्यक दक्ष जनशक्तिको अभावमा संचालनमा आउन सकेको छैन । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिक रुपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य बिरामीहरुलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ जिल्ला अस्पतालमा सघन उपचार (आईसीयू) कक्षमा चार शय्याको भेन्टिलेटरसहितको आईसीयू कक्ष तयारी अवस्थामा छ ।

‘दक्ष जनशक्तिको प्रमुख अभावको कारण सञ्चालनमा आउन सकेको छैन । यस्तै आईसीयू सञ्चालनका लागि आवश्यक अन्य खर्चको अभावले पनि अहिले सेवा प्रभावित भएको हो ।’ जिल्ला अस्पताल भोजपुरका प्रमुख डा. मिलन राईले भने ।

अस्पतालमा आईसीयू सञ्चालनका लागि एनेएसथेसिया चिकित्सकसहित १० जना शक्तिको आवश्यक पर्छ । जिल्ला अस्पतालमा भौतिक रुपमा सुविधा सम्पन्न हुँदै गए पनि अवश्यक जनशक्ति अभावका कारण समय र पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौं जस्ता सुविधा सम्पन्न अस्पताल जानु पर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएपछि रेफर गरेका कति बिरामीले बाटैमा ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

भोजपुरमा १५ शय्याको अस्पतालाई २०७९ असोज ६ गते बसेको प्रदेश १ को मन्त्रिपरिषदको निर्णयअनुसार ५० शय्यामा स्तरोन्नति गरिएको छ ।

अस्पतालमा ५० शय्या अनुसारको कर्मचारी त परको कुरा १५ शय्याको दरबन्दीअनुसार पनि कर्मचारी नहुँदा दैनिक उपचारमासमेत समस्या हुने गरेको छ ।

अस्पतालमा भएको जनशक्तिले उपचारलाई सहज बनाउन १५ बाट हाल ३७ शय्या सञ्चालनमा ल्याएको छ । उपकरण भएर पनि जनशक्तिको अभावमा उपचारका लागि जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । भौतिक संरचना र जनशक्तिको अभावमा कहिलेसम्म भोजपुरे जनताले सास्ती भोगिरहने यसमा सरकारको ध्यान जान जरुरी छ ।