१६ चैत्र २०८०, शुक्रबार

नागरिक लगानी कोषको पेन्सन योजना शुरु

nagarik lagani kosh

नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ । अनलाइनमार्फत नै सो योजनामा सहभागी हुन सकिने भएको छ ।

सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुकले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ ।

यस योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका सङ्घ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक-कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक-त्रैमासिक-अर्धवार्षिक-वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको छ ।

पेन्सन प्राप्त गर्न बचत कर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने गरी सहभागी हुन सक्ने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनुभयो ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल जोडी हुन आउने कूल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवन कालभर पेन्सन पाउन सक्ने व्यवस्था छ ।

    सम्बन्धित समाचार...