७ बैशाख २०८१, शुक्रबार

पृथ्वीनारायण दक्षिण एशियाकै अब्बल योद्धा

Prithvi Narayan Shah

दुई सय ९९ औंँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरी आज मनाइएको छ । राष्ट्रनिर्माताको राजधानी नुवाकोट दरबार क्षेत्र, सदरमुकाम विदुर र अन्त्यस्थल देवीघाटस्थित पृथ्वीनारायणको शालिक भएका स्थानमा फरक फरक कार्यक्रम गरी मनाइएको हो ।

विदुरमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण दक्षिण एशियाको एकीकरणको अब्बल योद्धा भएकाले उहाँको योगदानको सरकारले कदर गर्नुपर्ने बताउनुभयो ।

डा लोहनीले सरकारले पृथ्वीनारायणले एकीकरणमा पु¥याएको योगदानलाई सम्मान गर्दै एकता दिवस भव्य रुपमा मनाउनुपर्नेमा पनि जोड दिनुभयो ।राप्रपा नुवाकोटको आयोजनामा भएको कार्यक्रममा बाजागाजासहित सदरमुकाम परिक्रमा गरिएको थियो ।

यस्तै नुवाकोट दरबार क्षेत्रमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पृथ्वीनारायणले मुलक टुक्रिनबाट जोगाएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले इतिहासको विरोध नभई सम्मान गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै विदुर– ५ देवीघाटस्थित पृथ्वी स्मारकमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शाहको एकता अभियानबाट अहिलेको पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।