१६ बैशाख २०८१, आईतवार

पाएको टिकट खोसेपछि संकटमा सत्ता गठबन्धन: एकीकृत समाजवादी बाहिरिने विषयमा छलफल

Gathabandhan 2 768x391 1

कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनमा आवद्ध दलबीच किचलो बढेको बढेको छ । 

गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभमा दुई प्रदेशसभाका चार सिटमध्ये एउटा प्रदेशसभा पाउने सहमति केन्द्रमा भएको थियो । तर, उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र माओवादीले माथिको सहमति लत्याउँदै उम्मेदवारी दर्ता गराएपछि विवाद बढेको हो । 

तीन दलबीचको समझदारीअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–२  (क) समाजवादीको भागमा परेको थियो । समाजवादीले पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कांग्रेस–माओवादीले माथिको निर्णय उल्ट्याएको भन्दै समाजवादीबाट लोहनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेस र माओवादीको सहमतिअनुसार रामप्रसाद ढुंगानाले सोही क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको छ । 

उम्मेदवारी मनोनयनको केही घण्टाअघि मात्र आइतबार कांग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरी समाजवादीको टिकट खोसेका हुन् । 

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् । 

प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाइसकेका थिए । अन्तिम समयमा आएर दुई दलले प्रदेशसभाको क्षेत्र साटफेर गरी आफ्नो दललाई प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै क्षेत्रमा प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै समाजवादीले गठबन्धन तोडेने चेतावनी दिएको छ । 

समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट ढुंगाना र  माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् ।

समाजवादीका जिल्ला इन्चार्जसमेत रहेका राजेन्द्रप्रकाश लोहनीले आफूहरु गठबन्धनमा बस्नुको औचित्य नभएको बताए । माओवादीले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोड्नेबारे शीर्ष नेतृत्वसँग कुराकानी गरिरहेको उनले बताए । ‘हामीले केही नपाउने र कांग्रेस र माओवादीलाई जिताइदिनुपर्ने हो भने गठबन्धनमा रहनुको अर्थ नै के रह्यो र ?,’ उनले भने ।