१४ बैशाख २०८१, शुक्रबार

गोकर्ण बिष्टलाई मन्त्रीबाट हटाउन व्यवसायीहरुको यती ठूलो लविङ थियो !

gokarna bista bishta 1

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई मन्त्रीबाट हटाउन ठूलो म्यानपावर र चर्चित उद्योगी व्यवसायीसमेत सक्रिय रुपमा लागेको पाइएको छ ।

वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायीले सुरुदेखि नै मन्त्री बिष्टलाई हटाउनका लागि प्रधानमन्त्री कार्यालयमा लविङ गर्दै आएको स्रोतको भनाइ छ ।

बिष्टले वैदेशिक रोजगारी क्षेत्रमा श्रमिक आपूर्ति गर्दा भइरहेको भ्रष्टचार अन्त्यका लागि अभियान नै चलाएका थिए । वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावर कम्पनीमा छापा मार्ने र समातेर कारवाही गरी रोजगार पीडितलाई क्षतिपूर्ति भराउन निर्देशन दिँदै आएका थिए ।

वैदेशिक रोजगार विभागमा छड्केमा पुग्ने र पीडितका कुरा सुनेर तत्काल समस्यासमाधानको पहल गर्दा व्यवसायी दबावमा परेका थिए ।

मन्त्री विष्टको कडा निर्देशनप्रति म्यानपावर व्यवसायी असन्तुष्ट थिएनन् ।

बिष्टले श्रम मन्त्रालय सम्मालेपछि वेदैशिक रोजगार व्यवसायीसँगको भेटलाई रोकेका थिए । जसका कारण व्यवसायी मन्त्री बिष्टसँग रुष्ट थिए ।

वैदेशिक रोजगारी क्षेत्रमा भइरहेका ठगी नियन्त्रण, व्यवस्थीत बनाउन वैदेशिक रोजगार ऐन परिवर्तन गरेर म्यानपावरको धरौटी बृद्धि, कुटनीतिक नियोगमार्फत भिसा प्रमाणिकरण जस्ता व्यवस्था गरिएको प्रति वैदेशिक रोजगार व्यवसायी बिष्टसँग असन्तुष्ट बनेका थिए । मन्त्री विष्टले काठामाडौं बाहिरबाट पुनःश्रम स्वीकृति वितरण गर्ने सुरु गरेका थिए । यो विषयमा पनि मन्त्री विष्टसँग म्यानपावर व्यवसायी रुष्ट थिए ।

मन्त्रीलाई हटाउन व्यवसायीको लविङ !

बिष्टलाई श्रम मन्त्रीबाट हटाउनका लागि ठूला भनिएका व्यापारीपनि लागे थिए । बिष्टलाई मन्त्रीवाट हटाउन चर्चित व्यवसायी चन्द्र ढकाल समेत सक्रिय रुपमा लागेको स्रोतको दाबी छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न मन्त्री विष्टले कडाइ गर्ने थालेपछि बिष्टलाई हटाउने उनले शक्तिको प्रयोग गरेको स्रोतको दाबी छ ।

‘धेरै कम्पनीहरु रहेका व्यवसायी ढकालले सामाजकि सुरक्षा कोषमा मन्त्री विष्टले कडाइँ गर्न थालेपछि चलखेल शुरु गरेका थिए’ स्रोतले भन्यो,‘शक्तिको प्रयोग गरेर उनले बिष्टबारे गलत ब्रिफिङ गर्दै उनलाई हटाउन सक्रिय रुपमा भूमिका खेलेको पाइएको छ ।’

सामाजिक सुरक्षा कोषको कार्यक्रमलाई सफल बनाउनका लागि व्यवसायी ढकालले हस्ताक्षरसमेत गरेका थिए । कोषमा अनिवार्य श्रमिक ल्याउनुपर्छ भन्दै भाषण गर्दै हिँडेका व्यवसायी ढकालले पछिल्लो समय कोषको कार्यक्रममा सहभागी हुन आलटाल गर्दै आएका थिए ।

कोषका कार्यक्रममा नआउने व्यवसायीलाई कारवाही गर्नुपर्छ भन्दै मन्त्री विष्टलाई सुझाव दिने ढकालले पछिल्लो समय आफना कम्पनीका कायरत श्रमिकलाई नै कोषमा सूचिकृत गराउन आनाकानी गर्दै आएका थिए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले कोषमा जाँदा पर्ने व्ययभार र वास्तविक सम्पत्ति विवरण समेत खुल्ने डरले मन्त्री विष्टलाई हटाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य शीर्ष तहका नेता गुहारेको नेकपाका निकट स्रोतको दाबी छ ।
स्रोतका अनुसार व्यवसायी ढकालले बिष्टलाई हटाउन ठूला नेताका ढोकाढोका पुगेर लविङ गरेका थिए ।

ग्लोवल आईएमई, आईएमई रेमिट्यान्स, ग्लोवल बैक, डिस होम र चन्द्रगिरी हिल्स प्रालिमा करिब १ हजार ५ सय कर्मचारी कार्यरत रहेका छन् । ती कर्मचारी सामाजिक सुरक्षा कोषमा सहभागी गराउँनै पर्ने भएपछि ढकाल तनावमा परेका थिए ।

मन्त्री विष्टले सामाजिक सुरक्षा कोषको कार्यक्रमलाई सफल बनाउन जसरीपनि राजगारदाता सहभागी हुनुपर्ने भन्दै त्यसमा कडाइ गर्न थालेपछि व्यवसायीहरु ढकाललाई पदबाट हटाउन लबिङमा थिए ।

ढकालले आफना कम्पनीहरुको श्रम अडिट गर्दा धेरै श्रमिकको संख्या देखाएर कर छली गर्दै आएको स्रातको दाबी छ ।

‘उनले श्रम अडिट गर्दा धेरै श्रमिकको संख्या देखाएर कर छली गर्दै आएका थिए’ स्रोतले खबरहबसँग भन्यो,‘सामाजिक सुरक्षामा जाने भएपछि कर्मचारीको एकिन तथ्यांक आउने र कर छलीबारेको तथ्य खुल्ने भएपछि ढकाल बिष्टलाई हटाउन सक्रिय भएका थिए ।’ ढकालसँगै अन्य साना व्यवसायी पनि मन्त्री विष्टलाई हटाउन लागि परेका थिए ।

म्यानपावर व्यवसायीको चलखेल

म्यानपावर व्यवसायी र वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध बिष्ट कडा रुपमा प्रस्तुत हुन थालेपछि म्यानपावर व्यवसायीहरु आतंकित भएका थिए । त्यसकारण ठूला म्यानपावर सञ्चालकले राजनीतिक प्रभावका आधारमा मन्त्री बिष्ट विरुद्ध वालुवाटारमा ‘लबिङ’ गरेको स्रोतको दाबी छ ।

एसओएस म्यानपावर प्रालिका सञ्चालक हेम गुरुङ, पूर्व वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरुङ समेत मन्त्री विष्टलाई श्रम मन्त्रालयबाट हटाउनका लागि राजनीति लविङमा सक्रिय बनेका थिए ।

एसओएसका सञ्चालक गुरुङले कतारी भिसा सेन्टर खोल्न नदिएपछि मन्त्री विष्टलाई हटाउन पहल गर्दै आएका थिए ।

कतारी भिसा सेन्टरका लागि एसओएसका गुरुङले परराष्ट्र मन्त्रीसँग मिलेर सञ्चालनमा ल्याएका थिए । मन्त्री विष्टले कतारी भिसा सेन्टर खोल्न एक वर्षसम्म रोकेका थिए । जसका कारण गुरुङ बिष्टका विरुद्ध खनिएका थिए ।

यस्तै, पूर्व अध्यक्ष रोहन गुरुङले विष्टलाई मन्त्रीबाट हटाउन लविङ गर्र्द आएका थिए ।

उनले विष्टले म्यानपावर व्यवसायीका भनाइ नसुनेको र व्यवसायीलाई धरपकड गरेको भन्दै विष्ट विरुद्ध लविङ गरिएका थिए ।

गुरुङले विष्टलाई प्रधानमन्त्री केपी ओलीले श्रम मन्त्रीबाट हटाएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टस्स लेख्दै खुशी व्यक्त गरेका थिए । विष्टले मलेसिया जाने कामदारमाथिको सिण्डिकेट बन्द गरेको भन्दै गुरुङ असन्तुष्ट देखिएका थिए ।

यस्तै मलेसिया रोजगारीमा कामदार पठाउँदा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएन सञ्चालक राम श्रेष्ठले पनि बिष्टमाथि खनिँदै आएका थिए ।

गत वर्षको जेठमा मेलेसिया जाने कामदारमाथि सिन्डिकेट लगाएर ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका थिए ।

मन्त्री बिष्टले रोजगारीका क्रममा ठगी गर्ने कसैलाई पनि नछोड्ने भन्दै भीएलएनमाथि कडाइ गरेका थिए । त्यसैकारण श्रेष्ठ लगायत भीएलएन सञ्चालकहरु बिष्टसँग रुष्ट रहँदै आएका थिए । उनीहरुले पनि बिष्टलाई मन्त्रीबाट हटाउन राजनीनितिक नेतृत्वसँग लविङ गर्दै आएका श्रोतको दाबी छ । खबरहब डटकम बाट