१३ बैशाख २०८१, बिहीबार

निर्वाचन अपडेटः नेकपा चार स्थानमा विजयी, कांग्रेसले खाता खोलेन

CPN UML

५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा लम्जुङ्, कञ्चनपुर, रोल्पा र सल्यानमा गरी चार स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपामा उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

लम्जुङ सुन्दरबजार नगरपालिकामा नेपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।

सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुनर्वास नगरपालिका–३ मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काङ्ग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पनि नेकपाले नै अग्रता लिएको छ । त्यहाँ नेकपाका उमेदवार केदारप्रसाद आचार्यले अग्रता लिएका छन् । अघिल्लोपटक त्यसवडामा काङ्ग्रेसका उमेदवार निर्वाचित भएका थिए ।