१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीको डिस्चार्ज समय भने अनिश्चित, आएनोट्रोप्सबाट हटाइयो

KP Oli

प्रधानमन्त्री केपी आ‍ेलीका निजी चिकित्सक डा. दिव्या सिंहले उनको स्वास्थ्यमा सुधार आएका कारण आएनोट्रोप्स दिने काम बन्द गरिएको, ज्वरो हटेको र रक्तचाप सन्तुलनमा रहेको बताएकी छन् ।

बिहान पेटमा असहज महसुस गरेपछि तत्काल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य साँझसम्म ‘जटिल’ बन्यो ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि बिहान नौ बजे अस्पताल भर्ना भएका थिए । स्वास्थ्य जाँच गर्दा उनलाई एपेन्डिसाइटिस देखियो ।

एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुअघि उनको पेटमा संक्रमण फैलियो । १२ वर्ष अघि मिर्गौैला प्रत्यारोपण गरेका उनको अहिले नियमित हेमोडायलासिस गरिदै आएको छ ।

मनमोहनमा भर्ना हुनुभन्दा २ दिन अघि ८ मंसीरमा ओलीको ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिएको थियो ।

हेमोडायलासिस गरेको शरीरमा एपेन्डिसाइटिस हुनु र पेटमा थप संक्रमण फैलनुलाई उनको उपचार गरिरहेका चिकित्सकहरूले ‘गम्भीर’ रूपमा लिए । उनको उपचारमा संलग्न एक चिकित्सकका अनुसार १० मंसीर साँझसम्म उनको अवस्था चिन्ताजनक नै थियो ।

मंगलबार दिउँसो १:४० बजे अस्पतालका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति अनुसार बिहान नौ बजे अस्पताल भर्ना भएका ओलीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहितको पेटको संक्रमण देखिएको थियो ।

तर, अस्पताल र उनको उपचारमा संलग्न चिकित्सकले ओलीको पेटमा संक्रमण फैलिनुको कारण अहिलेसम्म खुलाएका छैनन् ।

विज्ञप्ति मार्फत उनको स्वास्थ्य उपचार ल्यापोरोटोमी र एपेन्डेक्टोमी लगायतको विधिबाट गरिएको र सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जानकारी गराइयो ।

यसका साथै उनको स्वास्थ्य सुधार्न आएनोट्रोप्स पनि चलाइएको थियो । आएनोट्रोप्स शरीरमा ब्लड प्रेसर बढाउन सुई मार्फत दिइने औषधि हो । मुटुको चाल र ब्लड प्रेसर कम भएका बिरामीलाई यो औषधि दिइने गरिएको छ ।

प्रधानमन्त्री ओलीको शल्यक्रिया शुरु हुनुअघि नै ज्वरो आउनु, रक्तचाप घट्नु, पेटमा संक्रमण फैलनु लगायतका कारणले उनको स्वास्थ्यलाई जटिल बनाएको थियो ।

त्यसमाथि आएनोट्रोप्स चलाउने स्थिति बन्नुलाई कतिपय चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको संकेतका रूपमा लिएका थिए ।

पेटसम्म संक्रमण फैलिएकाले उनको प्रत्यारोपण गरेको किड्नीमा त्यसको असर फैलन सक्ने जोखिम पनि उत्तिकै थियो ।
त्यसैले मंगलबार साँझसम्म उनको स्वास्थ्य जटिल बनेको थियो ।

तर, विशेषज्ञ चिकित्सकहरूको टोलीले पेटसम्म फैलिएको संक्रमण नियन्त्रण गर्न र एपेन्डिसाइटिस हटाउन गरेको शल्यक्रिया सफल भयो ।
उनको दिउँसो पौने एक बजे शल्यक्रिया भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका थिए ।

स्वास्थ्य यसकारण सुधारोन्मुख

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. श्रेष्ठले ११ मंसीर बिहान साढे १० बजे जारी गरेको विज्ञप्ति अनुसार शल्यक्रियापछि ओलीलाई अस्पतालको सघन कक्षमा निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ । उहाँ अहिले राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा भएको जानकारी गराइन्छ ।”

हेमोडायलासिस गराइरहेका प्रधानमन्त्री ओलीको पेटमा फैलिएको संक्रमणले उनको स्वास्थ्यमा कत्तिको जोखिम बढाएको छ त रु मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्ष (आइसियू) मार्फत प्रधानमन्त्रीको उपचारमा खटिएका एक चिकित्सकले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताउँदै भने, “पेटमा संक्रमण फैलिएको आधार बनाएर आगामी दिनमा हेमोडायलासिस गर्दा जोखिम हुन्छ भन्नु गलत हो ।” उनले प्रधानमन्त्रीलाई एन्टिबायोटिक चलाएर विभिन्न विधि मार्फत उपचार भइरहेको बताए ।

यस्तै, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले  उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिइन् ।

डा. सिंहका अनुसार स्वास्थ्यमा सुधार आएका कारण प्रधानमन्त्री ओलीलाई आएनोट्रोप्स दिने काम बन्द गरिएको, ज्वरो हटेको र रक्तचाप सन्तुलनमा रहेको छ । उनले ओलीको रगतमा संक्रमण नफैलिएको बताएकी छन् । उनी भन्छिन्, “संक्रमण पेटमा मात्र फैलिएको थियो । तर, अहिले नियन्त्रणमा छ ।”

डा. सिंहले ओली अझै एक्दुई दिन अस्पतालमा नै रहने र उनको स्वास्थ्य अवस्था हेरेर मात्र डिस्चार्ज गरिने बताएकी छन् ।