२५ बैशाख २०८१, मंगलवार

वाग्मती प्रदेशमा आईसियुको सङ्ख्या बढाइन्छ : मुख्यमन्त्री पौडेल

Dormani poudel

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसियुको सङ्ख्या बढाइने बताउनुभएको छ।

आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भिर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको सङ्ख्या बढाउनु पर्ने अवस्था आएको बताउनुभयो ।

पौडेलले प्रदेश सरकारले आइसोलेशन कक्षहरुको निर्माण एवं सञ्चालन गरिरहेको जानकारी दिदै कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवार भएर लागेको धरणा राख्नुभयो । अन्य जिल्लामा सङ्क्रमण कम भएपनि अहिले संघीय राजधानी समेत रहेको काठमाडौँमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै पौडेलले संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो । पौडेलले काठमाडौको बढ्दो सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा क्वारेन्टिन र आईसोलेशन निर्माण गरी काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कोरोना सङ्क्रमणका कारण शिक्षा क्षेत्र समस्याग्रस्त बनेको विषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जीवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताउनुभयो ।