१४ बैशाख २०८१, शुक्रबार

एक बैंकको कार्ड अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्ने

atm lounge

अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो ।

बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरे।

तर लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थाले। अब भने एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्नेगरी नीतिगत व्यवस्था भएको छ।

यसअघि फरक नेटवर्कका नाममा बैंकले एकअर्काको कार्ड फरक एटिएममा प्रयोग गर्दा निश्चित शुल्क लिँदै आएका थिए। तर राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड सञ्चालनबारे नीतिगत सम्बोधन गर्दै अब अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको हो।

सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन ।

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्था सम्बन्धी (ङ) नम्वरको बुँदामा भनिएको छ- ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन।’

कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्ने र कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ।

त्यस्तै सबै कार्ड चिपयुक्त हुनुपर्ने व्यवस्था गरिएको छ। एटिएम काउन्टरमा आवश्यक सहयोग चाहिएमा सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ।

कार्ड अड्किने, पैसा नआउनेजस्ता एटिएम कारोबारसम्वन्धी समस्या ग्राहकले तत्काल जानकारी गराउन सक्नेछन् भने बैंकहरुले समाधानका लागि तुरुन्त पहल गर्न सक्ने छन्।

दैनिक एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमा सम्वन्धमा भने कुनै परिवर्तन गरिएको छैन। एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म पैसा झिक्न पाउने व्यवस्था यथावत राखिएको छ।

प्रत्येक एटिएममा भएका सिसिटिभीको निरन्तर अनुगमनको व्यवस्था गर्न संस्थाहरुलाई भनिएको छ। साथै सिसिटिभीको ब्याकअप दृष्य कम्तीमा ९० दिन सुरक्षितसाथ राख्नुपर्नेछ।

यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ ।

एकीकृत निर्देशनमा डेबिट कार्डबाट मासिक ४ लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै प्रतिकारोबार २५ हजारसम्म भुक्तानी गर्न सकिने र दिनमा १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

डेबिड कार्डबाट मासिक ४ लाखसम्म कारोबार गर्न सकिने पनि जनाइएको छ । इन्टरनेट बैंकिङमा भने दैनिक १० लाख र मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तो छ अधिकतम कारोबार सीमा

bank card limit