१४ बैशाख २०८१, शुक्रबार

दैलेख पीसीआर प्रयोगशालामा जनशक्ति अभाव

corana lab Dailekh

दैलेख जिल्लामा संचालित पीसीआर प्रयोगशालामा जनशक्ति अभाव हुदाँ कोरोना भाइरस (कोभिड–१९)को लागि पीसीआर परिक्षणमा समस्या भएको छ । जिल्ला अस्पताल दैलेखमा रहेको प्रयोगशालामा आवश्यक भन्दा कम जनशक्ति भएका कारण रिर्पोट आउन पनि ढिला हुने गरेको छ ।

जनस्वास्थ्य प्रयोगशालाले बनाएको मापदण्ड अनुसार पीसीआर परीक्षणका लागि एकपटकको परिक्षणका लागि कम्तिमा ३ देखि ४ जना दक्ष चिकित्सक आवश्यकता पर्ने भएपनि दैलेखमा तीन जना प्राबिधिक टोलीले काम गरिरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

पीसीआर मेसिन जडान गरे संगै दैलेख आएका प्रयोगशाला इन्चार्ज शंकर शाहीले जनशक्ति अभावका कारण पिसिआर परीक्षणमा समस्या भएको बताए । उनले तीन जना प्राबिधिक टोलीले काम गर्दै आएको भएपनि आफुहरुले दैनिक दुई सिफ्टमा कोरोना परीक्षण गर्दा १२ घण्टा पिपिई लगाएर बस्न समस्या भएपनि आफुहरुले रातदिन नभनेर काम गरेको बताएका छन ।

उनका अनुसार पिसिआर परीक्षण गर्दा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई दुई चरणमा परीक्षण गरिन्छ । पहिलो चरण भनेको आर एन ए एक्सट्रयाक्सन हो जसमा दुई जना दक्ष जनशक्ति चाहिन्छ ।

आर एन ए एक्सट्रयाक्सन गर्न नमुनाको संख्या अनुसार ६ घण्टा देखी ८ घण्टा लाग्छ भने दोस्रो चरणमा एक्सट्रयाक्सन यो आर एन ए लाई विभिन्न केमिकल संग मिलाएर पिसिआर परीक्षणका लागि तयार गरिन्छ ।जसलाई मास्टर मिक्स टेम्पेलट एडिससन भनिन्छ त्यस पछि मात्र पिसिआर मेसिनमा टेष्टको लागि राखिन्छ र मेसिनमा राखेको दुई घण्टा पछि रिर्पोट आउँछ ।

यसरी काम गर्दा पीसिआरको रिपोर्ट आउँन करीब १० देखि १२ घण्टा लाग्ने इन्चार्ज शाहीले बताए ।

जिल्लामा जनशक्तिको अभाव रहदाँ रहदै उनको तीन महिने काज यहि भाद्र ३० गते सकिदै छ । तीन महिने काज सकिए लगतै आफु आफ्नो कार्यक्षेत्रमा जाने र जिल्लामा भएको कोरोना प्रयोगशालामा जनशक्ति अभाब हुन सक्ने उनले बताए । आफु जानुभन्दा कही समय अगाडिनै आफुले जानकारी गराएको बताउँदै तत्काल जनशक्तिको व्यवस्था गर्ने भनेको शाहिको भनाई छ ।

कोरोना संक्रमणको हटस्पट भएपछि स्थापना भएको प्रयोगशालामा दैनिक पिसिआर परीक्षण गरेपनि स्थानीय तहको समन्वय अभावका कारण समस्या हुने गरेको छ । प्रयोगशालाका इन्चार्ज शंकर शाहीले स्थानीय तहले प्रयोगशाला संग समन्वय नगरेर धमाधम स्वाबहरु संकलन गरेर ल्याउने गरेका कारण समयमै रिर्पोट आउन नसकेको बताए ।