२६ बैशाख २०८१, बुधबार

पहाडी र हिमाली जिल्लामा आन्तरिक उडान शुरु गर्ने तयारी

yeti air

सरकारले पहिलो चरणमा काठमाडौंबाट पहाडी र हिमाली क्षेत्रका विमानस्थलमा आन्तरिक उडान गर्ने तयारी गरेको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताएका छन् ।

यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री योगेश भट्टराईले यस्तो जानकारी दिएका हुन्।

सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको मन्त्री भट्टराईले जानकारी दिए । “चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ”, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन ।

‘अहिले नै सबै क्षेत्रमा आन्तरिक उडान सुचारु भइहाल्ने स्थिति छैन। देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञाको अवस्था छ,’‘तर, मन्त्रालयका तर्फबाट हामीले पहाडी र हिमाली जिल्लाबाट सुचारु गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं।’

तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन । उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन ।

देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताए । एक ठाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ ।’’

वायुसेवा सञ्चालकहरु सँग कुरा गरेर निष्कर्षमा पुग्छौँ । पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी उनले दिएका छन् । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।

उनले सबै क्षेत्रमा आन्तरिक उडान पनि छिट्टै सुरू गरिने विषयमा पनि निर्णय लिइने जानकारी दिए। मन्त्रालयको एक वर्ष कोभिडका कारणले बितेको भन्दै उनले स्थिति सहज भएपछि थप गति लिने बताए। ‘कतिपय काम गर्दा पनि हुन सकेको छैन। कति अपेक्षाहरु प्रतिकूलताका कारणले त्यो ठाउँमा पुग्न सकेनौं,’ उनले भने।

आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उनले बताए । भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै उनले कार्यदलको सुझाव अनुसार वायु सेवा कम्पनीहरुसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताए ।

यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ । नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।

सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ । अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ । १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।

परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराई जानकारी दिए । ठूलो माग र दवाव आएको छ, संख्या बढाउन, तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुन्छ, उनले भने । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।

कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकहरुलाई विभिन्न देशबाट नेपाल ल्याइएको उनले बताए । करिब २० हजार यो अवधिमा नेपाल बाहिर गएका छन । चार्टर्ड उडानहरु व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताए । चार्टर्ड उडाहरुको संख्या घटाउँदै भदौ १६ गतेबाट नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उनले बताए । त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिने छ ।

नेपाल वायुसेवा निगमको कुल सम्पत्ती ५४ अर्ब १७ करोड रहेको उनले बताए । निगमलाई उदृत गर्दै मन्त्री भट्टराईले ४५ अर्ब ९४ करोड ऋणमा निगम रहेको बताए । उनले चिनियाँ जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएकाले ग्राउण्डेड गर्नुपरेको समेत बताए । अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजहरुको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उनले बताए ।

निगमले विभिन्न कमिटीहरु बनाएर विमानहरुको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको उपयुक्त विकल्प के हुन सक्छ भनेर अर्थ मन्त्रालयसँग राय मागिएको बताए । चीनसँगको कुटनीतिक सम्बन्ध र नेपालले तिनुपर्ने बाँकी रकमलाई समेत मध्यनजर गर्दै अर्थमन्त्रालयको राय आएपछि निर्णय हुने उनले बताए ।

राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उनले बताए । वनमन्त्रालय लगायतका निकायहरुसँग समन्वय अभावले काम प्रभावित भएको उनले बताए । पोखरा विमानस्थल तोकिएकै समय (३० जुन)मा सम्पन्न हुने उनले बताए । भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उनको भनाई छ ।