८ बैशाख २०८१, शनिबार

हवाई भाडामा किन हुन्छ चाडपर्वका बेला मनोमानी ?

domastic air flight

दशैंका लागि हवाई टिकट बुकिङ शुरु भएसँगै भाडादर पनि बढाइएको छ । वायुसेवा कम्पनीहरुले नागरिक उड्डयन प्राधिकरणको अधिकतम शुल्कलाई देखाएर शतप्रतिशतसम्म भाडा लिन थालेका छन् । यात्रुको धेरै चहलपहल हुने मौका छोपेर अत्यधिक शुल्क लिन थालिएको भन्दै यात्रु आक्रोशित छन् ।

दशैंमा काठमाडौं छाडेर जानेहरुले हवाई टिकट बुकिङ तीब्र पारेका छन् । आन्तरिक हवाई उडान गर्दै आएका वायुसेवा कम्पनीहरुका अनुसार अहिलेसम्म ८० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको छ । टीकाको भोलिपल्टदेखि काठमाडौं फर्कनका लागि पनि ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।

बुकिङ शुरु भएसँगै भाडा पनि बढिरहेको छ । काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि अघिपछि साढे ७ हजार रुपैयाँमा टिकट काटेकाहरुले दशैंको मुखमा १७ हजार रुपैयाँसम्म तिर्नुपरेको छ ।

यो भाडादर अहिलेको काठमाडौं–दिल्लीको भन्दा बढी हो । आन्तरिक तर्फका अन्य गन्तव्यको भाडा पनि उसैगरी वृद्धि भएको छ । तर वायुसेवा संचालकहरु यसलाई भाडा वृद्धि भएको मान्न तयार छैनन् ।

सामान्यतया चाडपर्वको समयमा हवाई यात्रुको चाप बढ्ने गर्छ । यात्रुको चाप बढेका बेला कम्पनीहरुले मनोमानी रुपमा दोब्बरभन्दा बढी भाडा लिने गरेका छन् । अधिकतम दरलाई देखाएर भाडा उठाउँदा दशैं मान्न घर जाने यात्रुले मार खेप्नु परेको छ।

वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले टिकटको माथिल्लो दर तोकिदिएको हुन्छ । सोही अनुसार भाडा निर्धारण हुने गरेको उनीहरुको दाबी छ ।

दशैंअघि काठमाडौंबाट बाहिरिने र दशैंपछि काठमाडौं भित्रिनेको लर्को लाग्ने भएकाले अन्य समयको तुलनामा भाडा महंगो हुनु स्वभाविक भएको दाबी सञ्चालकहरुको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी पुग्न अधिकतमा १७ हजार २५ रुपैयाँ तोकिएको छ। काठमाडौं–सुर्खेत १४ हजार ९९५, काठमाडौं–नेपालगञ्ज १३ हजार ९८०, काठमाडौं–भद्रपुर १२ हजार ९५५ रुपैयाँ अधिकतम शूल्क निर्धारण गरिएको छ। सबैभन्दा कम काठमाडौंबाट सिमराको अधिकतम ४ हजार २४० रुपैयाँ भाडा तोकिएको छ ।

अघिपछि हवाई कम्पनीले यो दरमा आधा सस्तो गरी यात्रु बोक्ने गरेका छन् । सामान्यतया १ महिनाअघि नै टिकट बुक गर्नेले सस्तो दरको टिकट हात पारेपनि त्यसपछि यात्रुको चाप अनुसार भाडा वृद्धि हुँदै जाने संचालकहरु बताउँछन् ।