२१ बैशाख २०८१, शुक्रबार

भारतीय विदेशमन्त्रीको बुद्धबारे अभिव्यक्तिमा कांग्रेसको आपत्ति- मोदीले हाम्रो संसदमा बोलिसकेको कुरामा फेरि किन टिप्पणी?

congress

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतका विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धका बारेमा दिएको अभिव्यक्तिको विरोध गरेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भनेपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् ।

आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने प्रवक्ता शर्माले बताएका हुन्।

“भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,” उनले आइतबार ट्‍विटमार्फत भनेका छन्, “आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।”

उनले वेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने पनि उल्लेख गरेका छन्। ‘वेगको जवाफमा आवेग दुवै देशको हितमा छैन,’ उनले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको। आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्। मुल विषय मोड्न सक्छन्। तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्।’

उनले बुद्ध नेपालमा जन्मिएको तथ्यबारे संसारमा कहिँबाट पनि नेपालले दर्ता प्रमाण नमागेको उल्लेख गरेका छन्।

‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं,’ शर्माको भनाइ छ, ‘भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो। फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्त दु:खद छ।’

भारतीय विदेशमन्त्री भन्छन्– बुद्ध महान भारतीय हुन्

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् ।

‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो । नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । तर दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

गौतम बुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको इतिहासमा पढ्न पाइन्छ । रानी मायादेवी कपिलवस्तुबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतम बुद्धको जन्म भएको थियो ।

तर नेपालमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा जन्मिएको भनेर देखाउन भारतले नक्कली कपिलवस्तुसमेत बनाएको छ ।