२६ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण निर्णय हुनसक्ने

ministry meeting corona
फाइल फोटो

मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुँदैछ। सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकले तीब्ररूपमा फैलँदो कोरोना भाइरस संक्रमण र त्यसको रोकथामका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने जानकारी दिएको छ। 

ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ । यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।

सरकारले १२० दिनपछि साउन ६ गते रातिदेखि लागू हुनेगरी देशभर लगाएको लकडाउन अन्त्य गरेको थियो। लकडाउन अन्त्यसँगै मानिसको अवागमन बढ्दै जाँदा समुदायस्तरमा कोरोना संक्रमण बढेको छ।

सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि लकडाउन खोल्दैमा असन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।

सरकारले लकडाउन खोलेसँगै भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरिसकेको छ भने अन्य सबैजसो सेवाहरु पनि खुलिसकेका छन् ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न सुझावहरू दिएको छ। जसका आधारमा सरकारले आज कुनै निर्णय गर्न सक्ने बताइएको छ।