
आइतबार राति अविरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ।
भारी वर्षापछि आएको बाढीले बाजुरा जोड्ने साँफे–मार्तडी सडकमा पर्ने १६ मिटर लामो पक्कीपुल बगाएको छ। साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो।
पुल बगाएपछि ताप्रीसेरा–बल्दे सडक पुर्ण रुपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टकंप्रसाद भट्टराईले बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताए।
बाढीले चार घरमा आंशिक क्षति पुगाएको छ भने ब्रहमतोलामा करिब एक सय रोपनी खेतीयोग्य जमिन बगाएको छ।

गएरातिको भारी वर्षाले बाजुरा जोड्ने एकमात्र राजमार्गमा दुई दर्जन बढी स्थानमा पहिरोले भत्काएको प्रमुख जिल्ला अधिकारी कृष्ण ग्रैह्रेले बताए।
अहिले प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायको टोली बाढीको प्रभावबारे बुझ्न प्रस्थान गरेको छ।
पहिरोले सडक भासिएपछि सदरमुकाम मार्तडीसम्मको आवागमन १४ दिनदेखि अवरुद्ध छ। सडक खोल्ने प्रयास सफल हुन नसकेको ग्रैह्रेले बताए।
बाजुरा सदरमुकामबाट अन्य जिल्लासंगको सडक सम्पर्क अवरुद्ध भएपछि आवागमन, ढुवानी र औषधि उपचारमा समेत समस्या भइरहेको छ।
साँफे मार्तडी सडक खण्डको डुङग्रीमा २ साता अघि गएको पहिरोले सडक समेत भाँसिएको थियो।
