१४ बैशाख २०८१, शुक्रबार

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द

muglin narayanghat

अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।

निरन्तरको वर्षा र पहिरो खस्ने क्रम अझै नरोकिएपछि आज (सोमबार) नारायणगढ–मुग्लिन सडक खण्ड खुल्ने संभावना कम भएको छ । विहान ५ बजेदेखि इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

ठूलो पहिरोले पूर्ण रुपमा सडक अवरुद्द भएकोमा हालसम्म पनि निरन्तर पानी परिरहेको र पहिरो खसिरहेकोले पहिरो हटाउन कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार सडक सुचारु हुन दिनभरी नै लाग्ने सम्भावना भएकाले यस सडक खण्ड भएर यात्रा नगर्न आम सडक प्रयोगकर्तालाई अनुरोध छ ।

पहिरो हटाउनका लागि दुई वटा लोडर र एक्साभेटर तयार छ तर वर्षाका कारण हटाउन हटाउन सकिएको छैन । वर्षा रोकिदा पहिरो हटाउन सुरु गरिए पनि पुनः वर्षा भएपछि अहिले हटाउने काम रोकिएको छ ।

बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ । प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

यस सडक खण्डका विभिन्न स्थानमा पनि ससाना पहिरो खसेकाले आज दिनभर सडक खुल्ने संभावना कम रहेको छ ।