१३ बैशाख २०८१, बिहीबार

हेर्नुहोस् सूचीसहित – काठमाडौं उपत्यकामा कुन काम गर्नेले कति पाउँछन् ज्याला ?

weilding labor

कोरोनाभाइरस (कोभिड–१९) का कारण यो वर्ष श्रमिकहरुको ज्याला नबढ्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसमेत सहभागी हुने जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि विभिन्न क्षेत्रका श्रमिकहरुको ज्यालादर अघिल्लो वर्ष बराबर नै राख्ने निर्णय गरेको हो ।

निर्धारित दररेट अनुसार निर्माणकार्यमा काम गर्ने ज्यामीहरुको ज्याला प्रतिदिन ७५० रुपैयाँ तोकिएको छ । फोहोर र ढलमा काम गर्नेको १ हजार ७० रुपैयाँ, डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मी, मूर्तिकार, चित्रकार लगायत क्षेत्रका दक्ष कामदारको दैनिक ज्याला १ हजार ३० रुपैयाँ तोकिएको छ । अर्धदक्षहरुको लागि भने यस्तो ज्याला ८४५ रुपैयाँ मात्रै तोकिएको छ ।

त्यस्तै, समइक्लो स्टाइल ट्रेसिङ, प्रिन्टिङ, फोरमेन, सामाजिक परिचालक तथा खानीसम्बन्धी कामदारका लागि ७५० रुपैयाँ, निर्माणकार्यका लागि सुपरभाइजर, सेक्युरिटी गार्ड, ड्राइभर लगायतलाई दैनिक ६ सय ९० रुपैयाँ, माली धोबी, स्वीपर लगायतलाई ६३० रुपैयाँ ज्यालादर निर्धारण गरिएको छ ।

सामान लोडअनलोड गर्ने व्यक्तिलाई भने प्रति १ सय किलोग्राम बराबर २१ रुपैंया ५० पैसा ज्यालादर निर्धारण गरिएको छ ।

सडकमा काम गर्नेहरुको ज्यालादर भने ७ सय ६५ रुपैयाँ देखि ६ हजार ६ सय रुपैयाँसम्म तोकिएको छ । पिच स्प्रेयर र पिच ब्वायलरलाई ७६५ रुपैयाँ, जसमा दिउँसोको समयमा काम गर्ने प्याच वर्करलाई ७५० रुपैयाँ, प्याच वर्कर सुपरभाइजरलाई ७ सय ८५ रुपैयाँ, रातिको समयमा काम गर्ने प्याच वर्कर र सुपरभाइजरलाई क्रमशः १ हजार ७० रुपैयाँ र एक हजार १ सय रुपैँया, ४० किलोसम्मको सामान बोक्ने भरियालाई ७ सय ८५ रुपैयाँ ज्यालादर निर्धारण गरिएको छ ।

४ पाङ्ग्रे बोलेरो पिकअप भ्यानलाई प्रतिदिन चालक, इन्धन र भाडासहित दैनिक ५ हजार ५ सय र ४ पाङ्ग्रे स्करपियो पिकअप भ्यानलाई चालक, इन्धन र भाडासमेत प्रतिदिन ६ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यी ज्यालादर ८ घण्टा समयको लागि निर्धारण गरिएको हो । साउन १ गतेदेखि लागू हुनेगरि निर्धारण गरिएको यो ज्यालादरमा १६ वर्ष वा सोभन्दा बढी उमेरका श्रमिकहरु सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

तर, उक्त भाडादर काठमाडौं उपत्यकामा साविकका पहाडी गाविसहरु नाङ्लेभारे, लप्सीफेदी, सुन्टोल, गागलफेदी, सुन्दरीजल, जीतपुरफेदी, नागढुंगा, दहचोक, छैमले, टक्कुडुडेचौर जस्ता क्षेत्रमा नगरपालिकाको केन्द्रबाट आयोजनास्थलसम्म पुग्ने दूरीका आधारमा हुने ढुवानी खर्च सम्बन्धित नगरपालिकाले निर्धारण गर्न पाउने व्यवस्था गरिएको छ ।

पुरातात्विक महत्वका सम्पाहरुको निर्माणमा खटिने मजदूरको ज्याला भने पुरातत्व विभागले निर्धारण गरेबमोजिम हुने समेत स्पष्ट पारिएको छ । सडक विभागले भाडामा दिने उपकरणको भाडादर निर्धारण विभाग आफैले गर्नेछ । समितिले आयोजनाहरुमा श्रमिकको व्यवसायजन्य सुरक्षा गर्नुपर्ने, स्वास्थ्यको आवश्यक व्यवस्था गर्नुपर्ने तथा सार्वजनिक खरिद ऐन तथा नियमावलीका व्यवस्थालाई समेत यो ज्यालादर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनेपर्ने समेत जनाएको छ ।

समितिले ज्यालादर मात्रै नभएर निर्माण सामाग्री, प्राकृतिक स्रोत तथा साधन तथा अन्य उपभोग्य वस्तु तथा सेवाको समेत मूल्यर भाडादर निर्धारण गरेको छ ।

Rate list