१४ बैशाख २०८१, शुक्रबार

करारका कर्मचारी हटाइएपछि बडीमालिकाका स्वास्थ्य संस्था ठप्प, सेवाग्राही मारमा

Badimalika Health Post

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकास्थित सहरी आधारभूत स्वास्थ्य केन्द्र एक सातादेखि बन्द भएका छन् ।

नगरपालिकाको १३ औँ नगरसभाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णयपछि स्वास्थ्य संस्थाको सेवा प्रवाह नै बन्द भएका हुन् ।

स्वास्थ्य क्षेत्रजस्तो अतिसंवेदनशील क्षेत्रका करारका कर्मचारी हटाएइपछि स्वास्थ्य केन्द्र बन्द हुँदा बिरामीले जिल्ला अस्पताल धाउनु पर्ने पुरानै बाध्यता दोहोरिएको छ ।

बडीमालिका नगरपालिकाले ४९ जना करारका कर्मचारी हटाएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि आएका बिरामी त्यसै फर्किनु परेको बडीमालिका नगरपालिका–१ पिनालेखका लालबहादुर हमालले बताए

उनकाअनुसार पिनालेख स्वास्थ्य केन्द्रमा दैनिक १० देखि १५ जना बिरामी आउने गरेका भएपनि स्वास्थ्यकर्मी नहुँदा उपचार नपाएर फर्किने गरेका छन् ।

कर्मचारी अभावमा नगरपालिकामा रहेको पाटा सहरी स्वास्थ्य केन्द्र, पिनालेख सहरी स्वास्थ्य केन्द्र, मना सहरी केन्द्र, कोर्ध सहरी स्वास्थ्य केन्द्र, रजाली सहरी स्वास्थ्य केन्द्र र रिला सहरी स्वास्थ्य केन्द्र बन्द अवस्थामा छन् ।

२०७४ सालमा करारमा भर्ना गरिएकालाई मात्र हटाउनु राजनीतिक प्रतिशोध र पूर्वाग्रह रहेको कर्मचारीहरुको आरोप छ । करारमा रहेका सबै कर्मचारीलाई नहटाएर केहीलाई मात्रै छानीछानी हटाउनु राजनीतिक पूर्वाग्रह भएको मानबहादुर रावलले बताए ।

बडीमालिका नगरपालिकाले भने आर्थिक भार धान्न नसक्ने भएकाले करार कर्मचारीको म्याद थप नगरेको जनाएको छ ।