१४ बैशाख २०८१, शुक्रबार

कर्मचारीले लगाएको ताला जनप्रतिधिले तोडे बडीमालिका नगरपालिकामा

Badimalikatala2 1671425342

बाजुराको बडीमालिका नगरपालिकामा करार कर्मचारीले लगाएको ताला नगर प्रमुखको नेतृत्वमा तोडिएको छ । आन्दोलित कर्मचारीले आइतबार कार्यालयको ढोकामा लगाएको ताला आज (सोमबार) बिहान कार्यवाहक नगर प्रमुख डम्बर महतको नेतृत्वमा तोडिएको हो ।

नेपाल नगरपालिका संघको कार्यक्रममा सहभागी हुन नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापा काठमाडौं गएकाले नगरपालिकाको वडा नम्बर – २ का वडाध्यक्ष महतलाई कार्यवाहक नगर प्रमुखको जिम्मा दिइएको हो ।

नगरपालिकाको १३ औँ नगर कार्यपालिकाको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यसविरुद्ध करार कर्मचारीले विभिन्न माग राख्दै ताला लगाएका थिए ।

राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरुलाई हटाएको करारमा नियुक्त भएका कर्मचारीको आरोप छ । उनीहरुले हटाइएका कर्मचारीको विवरणसमेत मागेका छन् । साथै हटाउने भए सबै करार कर्मचारीलाई हटाउनुपर्ने वा सबैको म्याद थप गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।

२०७४ पछि करार भर्ना गरिएका कर्मचारीलाई मात्र हटाएको र त्यसभन्दा पहिलेका करार कर्मचारीलाई नहटाएको आन्दोलित कर्मचारीहरुको आरोप छ ।

सोमबार बिहान कार्यवाहक नगर प्रमुख महतको नेतृत्वको टोलीले फलामको रडले ताला तोडेको हो । नगरपालिकाको सेवा प्रवाहमा अवरोध नहोस् भनेर ताला तोडिएको उनले बताए ।

उनले नगरपालिकाबाट प्रदान हुने सेवा बन्द भएकाले सेवा नियमित गर्न ताला तोडेको बताए । आन्दोलनमा रहेका करार कर्मचारीलाई वार्ताका लागि बोलाउँदा नआएकाले ताला तोड्न बाध्य भएको बताए ।

यता आन्दोलनरत करार कर्मचारीले भने वार्ताका लागि बोलाएको भनिएपनि कुनै जानकारी बिनै ताला तोडिएको बताएका छन् । आन्दोलनरत कर्मचारी प्रकाश थापाले छलफल र सहमतिका लागि पहल नगरी ताला तोडिएको बताए । उनले थप चरणबद्ध आन्दोलनमा जाने तयारी भइरहेको जानकारी दिए ।