६ बैशाख २०८१, बिहीबार

कैलालीमा ओली–दाहाल पक्षबीच झडप (भिडियो सहित)

oli prachanda commarade fight kailalai

कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा निकालिएको -यालीमा झडप भएको छ ।

नेकपाको शीर्ष नेतृत्वमा देखिएको तित्तता तल्लो तहमा समेत देखिन थालेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको हो।

सोमबार साझ लम्कीबजारमा सचेत युवाहरु नाम दिएको समुहले प्रधानमन्त्री ओली पक्षमा प्लेकार्ड सहित नारा लगाउँदै कोण सभा गरिरहेको बेला झडप भएको थियो ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमा एकअर्का विरुद्ध प्रचारबाजी गरिरहेका बेला अब झडपमा परिणत हुन थालेको छ।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले सोमबार दिउँसो लम्की चुहा नगरपालिकाको लम्की चोकमा प्रधानमन्त्रीको पक्षमा र्‍याली सहित कोणसभा गरेका थिए।

उनीहरुले आफुहरु प्रधानमन्त्री ओलीको साथमा रहेको र प्रधानमन्त्रीलाई हटाउन भारतीय पक्ष सक्रिय रहको भन्दै बिरोध जनाएका थिए । प्रधानमन्त्रीको समर्थनमा बजार परिक्रमा गरी कोण सभालाई सम्बोधन गरिरहेका नरबहादुर खड्काले कुनै पनि हालतमा प्रधानमन्त्रीलाई हटाउन नहुने भन्दै नेकपा अध्यक्ष प्रचण्डको नामै लिएर बिरोध गरेपछि नजिकै रहेका प्रचण्ड पक्षधरले कार्यकर्ताले प्रचण्ड किन नाम लिएको भन्दै सभामा हस्तक्षेप गरेपछि झडप हुन पुगेको थियो । कोण सभालाई खड्का तत्कालिन एमाले कैलाली जिल्ला कमिटी सदस्य हुन् ।

pm oli 1

त्यही बेला प्रचण्ड पक्षधरहरु एका एक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन्। सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको व्यानरमा केपी शर्माओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन समेत गरेका थिए ।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारासमेत लेखेका प्ले कार्ड सहित केपी शर्मा ओली पक्षधर युवाहरुको सहभागिता थियो।

प्रधानमन्त्री ओली पक्षधर र बिरोधी पक्षधर बीच झडप भएपछि प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी स्थिती नियन्त्रणमा लिएको थियो । घटनास्थलमा रहेका सुरक्षाकर्मीले समयमै स्थितीलाई नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना हुन नपाएको प्रहरीको भनाई छ ।

ओलीका कार्यकर्ता लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले के. पि. शर्मा ओलीको बचाउ गदै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएपछि दाहाल पक्ष आक्रमणमा उत्रेको थियो।

दुई तिहाईको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखी रहेका बेला प्रचण्ड निकटका केहि युवाहरु खड्का माथि खनीएका थिए।

त्यस क्रममा दुबै पक्षका गरि ४–५ जना सामान्य घाईते भएका छन् । केपी पक्षधरहरुले आफूहरुमाथि प्रचण्डका पूर्वलडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन्।

शीर्ष नेताहरुबी बढेको कलहका कारण नेकपा फुटको संघारमा पुगेपछि कार्यकर्ताले एकतामा जोड दिँदै पार्टी कार्यालयहरुमा धर्ना दिन थालेका छन्। दोस्रा तहका नेताहरुले पनि एकतामा जोड दिँदै प्रयास जारी राखे पनि समाधान निस्कन सकेको छैन।

उनीहरु बीच फेरी झडप हुनसक्ने भन्दै घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेकपा प्रदेश कार्यालयमा धर्ना

यसैबीच सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) युवाहरुले व्यक्तीको होइन नीति र पद्धतिले पार्टी चल्नु पर्ने माग राख्दै कैलालीमा धर्ना दिएका छन् । सोमबारदेखि धनगढीको चटकपुरमा रहेको पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयको ढोकामा बसेर धर्ना शुरु गरिएको हो ।

नेकपा कैलाली जिल्ला कमिटी सदस्य विमलकुमार जोशीले धर्ना कार्यक्रममा पार्टीमा क्रियाशिल विभिन्न कमिटीमा रहेका युवा, विद्यार्थीको सहभागिता रहेको बताए ।

उनले धर्ना पार्टीमा हाल देखिएको असहज परिस्थितीमा ब्यक्ति नभई नीति र पद्धति कायम गरी पार्टी एकता कायम राख्न दवाव दिन धर्ना युवा विद्यार्थी धर्नामा बसेको जानकारी दिए । उनले यस्तो कार्यक्रमले नेतालाई एकता कायम राख्न र नीति पद्धतिबाट चल्न खवरदारी हुने विश्वास ब्यक्त गरे ।