७ बैशाख २०८१, शुक्रबार

चिहान उत्खनन्‌पछि पत्ता लाग्यो : हत्यारा त श्रीमान्‌ नै रहेछन्‌

stul miyan

सुनसरी हरिनगरा गाउँपालिकामा २०७६ असारमा रहिदा खातुनको मृत्यु भयो।

उनका पति स्तुल मियाँले कालगतिकै कारण मृत्यु भएको भन्दै मुस्लिम परम्पराअनुसार दाहसंस्कार गरेका थिए। तर मानसिक समस्याबाट पीडित ४३ वर्षीया खातुनको मृत्युलाई स्थानीयले रहस्यमय ठानेका थिए।

दाहसंस्कार लगत्तै स्थानीयले खातुनको मृत्यु कालगतिले नभएको प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि खातुनको मृत्युप्रकरणमाथि अनुसन्धान थालेको प्रहरीले अन्तत: उनको हत्या नै भएको पत्ता लगाएको छ। मृत्यु या हत्या भएको एकीन गर्न प्रहरीले भोलिपल्ट (असार १० गते) खातुनको शव उत्खनन्‌ गर पोष्टमार्टमका लागि पठाएको थियो।

शव समाधिस्थ गरेलगत्तै खातुनका पति स्तुल फरार भएका थिए। ​स्तुल फरार भएपछि खातुनको हत्या नै भएकोतर्फ अनुसन्धान गर्न प्रहरीलाई थप संकेत मिलेको थियो। प्रहरीका अनुसार सुनसरीको गौतमपथस्थित चिहानघाटको बारीमा गाडिएको शव उत्खनन गरी पोस्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।

पोष्टमार्टमका क्रममा खातुनको घाँटी थिचेर हत्या गरिएको पाइएको थियो। पोष्टमार्टमबाट खातुनको हत्या नै भएको पुष्टि भएपछि प्रहरीले उनका पति स्तुलको खोजीकार्य तीव्र पारेको थियो। गत असारमै खातुनको हत्या भएपनि अदालतले भने चैतमा मात्रै स्तुलविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

एक वर्षयता फरार भएका मियाँ गत बुधवार आफैँ उपस्थित भएपछि मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ अनुसार १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिएका छन्‌।

अनुसन्धान प्रकृयामै रहेका मियाँलाई सजाय भने कम हुनसक्ने देखिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ४७ अनुसार अपराध स्वीकार गरेको व्यक्तिलाई सजायमा ५० प्रतिशतसम्म सजायमा छुट हुनसक्ने व्यवस्था छ।