६ जेष्ठ २०८१, आईतवार

एमालेले माग्दैमा प्रधानमन्त्रीले खुरुक्क राजीनामा दिनुपर्छ र ?

Prakash jwala
फाइल फोटो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

‘एमालेले पाइला पाइलामा, हप्ता हप्तामा, महिना महिनामा प्रधानमन्त्रीको राजीनामा भन्ला, सरकार छाड्नुपर्छ भन्ला, पश्चिमबाट घाम उदाउनुपर्छ भन्ला, उसले जे जे भन्यो, खुरुखुरु त्यही त्यही गर्दै जानुपर्छ र ? प्रधानमन्त्रीले बोलेको सन्दर्भलाई ट्वीस्ट गरेर हुन्छ ? एउटा व्यक्तिले कहीं दौडधुप गरेर प्रधानमन्त्री भइन्छ र ? त्यसलाई उछालेर सदन अवरुद्ध गरेर राजीनामा माग्ने तहसम्म पुग्नुको कुनै अर्थ छैन । अहिले प्रधानमन्त्रीले राजीनामा दिने सन्दर्भ नै आउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग उनले भने ।

आफ्ना अभिव्यक्तिका विषयमा प्रतिपक्ष दल मिडिया र देशबासीमा कन्फ्युजन परेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले संसदमार्फत प्रस्ट पार्ने पनि उनले बताए । मन्त्री ज्वालाले भने, ‘केपी ओलीहरुले त के के भन्नुहोला, भन्नुहोला । अस्ति नीति र कार्यक्रम र बजेट पास हुनैदिन्न भन्नुभयो । अत्यधिक बहुमतले पास भयो । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न भन्नेमा गठबन्धनले प्रस्ट छ । प्रधानमन्त्री जनताले बनाउने हो, देशभित्रकैका दलहरुले बनाउने हो । प्रधानमन्त्री बन्न भारत मात्र होइन, कहीं जानु पर्दैन ।’

साथै उनले बजेटलाई सन्तुलित र व्यवस्थित गर्न नसकेको स्वीकार गरे । मन्त्री ज्वालाले भने, ‘हो, बजेटका सम्बन्धमा केही आलोचना भए, गुनासा र असन्तुष्टि सुनए । बजेटलाई जति सन्तुलित र व्यवस्थित गर्नुपथ्र्यो, समयको चाप, राजस्व संकलनमा कमी लगायतका विभिन्न कायरणले सकिएन । जनताका असीमित मागलाई सम्बोधन गर्न सकिएन । तर वैकल्पिक सहायक राजमार्ग शीर्षकमा तीन जिल्लाको बजेटको कुरालाई लिएर हल्ला चलाइयो । बजेटमा अरु शीर्षक छैनन् र ?’

तपाईंले सल्यान जिल्लामा बजेट थुपार्नुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा ज्वालाले भने, ‘सल्यान अहिलेसम्म ठगिएको जिल्ला हो । तर चर्चा गरिए जसरी धेरै बजेट छुट्याइएको होइन । देशको विकास गर्नुपर्छ । देशभित्र सल्यान पनि पर्छ । बजेट दुरुपयोग गर्नलाई होइन, खानलाई होइन, विकासका लागि हो ।’ उनले आफ्नो मन्त्रालयले असारे विकास रोकिसकेको दाबी पनि गरे ।

अर्को प्रसंगमा उनले कोसी प्रदेशमा सरकार बनाउन सभामुखलाई गणना गर्नु स्वाभाविक भएको बताए । ज्वालाले भने, ‘सभामुखलाई सरकार बनाउन काउन्ट गरेको त हो नि । उहाँलाई दलको बैठकमा बोलाउने होइन, मन्त्री बनाउने होइन । पार्टीबाट राजीनामा दिए पनि सांसद त हुनुहुन्छ नि ।’