१७ बैशाख २०८१, सोमबार

सुनकोशीमा गाडी दुर्घटना अपडेट : गोताखोरद्वारा बेपत्ताको खोजी जारी

Sunkoshi

सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतलाई गोताखोर टोलीले आज (शनिबार) पनि बिहानैबाट खोजी कार्य थालेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोली हिजो (शुक्रबार) साँझ ५ बजेतिर घटनास्थल पुगेर दुई घण्टा रेकी गरी खोजी गरेको थियो । तर फेला पार्न सकेन । गोताखोर केशव महतका अनुसार सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी कार्य भएको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा.१झ ७४६७ नम्बरको जिप (स्कार्पियो) हिजो (शुक्रबार) मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, लौकुनमा दुर्घटना भई सुनकोशीमा खसेर बेपत्ता भएको छ ।

बेपत्ता हुनेमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेल छन् । चालक दाङ घर भएका कृष्ण चौधरी भने पौडिएर निस्किएका छन् ।

    सम्बन्धित समाचार...