१६ चैत्र २०८०, शुक्रबार

जो ७ सय बजेटमा वडा चलाउँथे

Uttar Bahadur bohara 1

डिलाशैनी गाउँपालिका–६ का वडाध्यक्ष उत्तरबहादुर बोहरा अहिले ६२ वर्षमा टेके । उनी जनताको कामका लागि रातदिन खटिने वडाध्यक्षका रूपमा चिनिन्छन् । पञ्चायतकालदेखि पटकपटक चुनाव लडेको अनुभव बोहरासँग छ । उनी २०४८, २०५४ र अहिले २०७८ मा समेत चुनाव जितेका व्यक्ति हुन् ।

अहिले चुनाव लडेकै दिनदेखि आफूले सञ्चालन गर्दै आएको पसल बन्द गरेका छन् । यसअघि २०४८ मा पनि चुनाव लड्दा आफूले सञ्चालन गरेको मदिरा पसल बेचेर चुनावमा होमिँदै तत्कालीन गोकुलेश्वर गाविस–६ वडाध्यक्ष बनेका थिए । वडाध्यक्षको कार्यकाल सकिएपछि केही समय रासन पसल थापेका उनले २०५४ सालमा चुनाव जितेपछि त्यो पसल पनि छोड्नुप¥यो ।

२०७८ मा चुनाव लडेकै दिनदेखि बोहराले आफ्नो पसललाई समय दिन सकेका छैनन् । पसल बन्द गरेर वडाको जिम्मेवारीमा खटिएका छन् । यसपटक बोहरा सेटीगाउँ क्याम्पसनजिकै क्यान्टिनसहितको पसल चलाइरहेका थिए ।

उनको पसल अहिले बिहान ८ बजेअघि र साँझ ६ बजेपछि कहिलेकाहीँ मात्रै खुला हुन्छ । ‘घरमा पसल चलाउने मान्छे कोही छैन । आफैंले खोल्नुपर्छ, आफूलाई शनिबारसमेत मुस्किलले फुर्सद हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले पसल खोल्ने समय मिलेको छैन । व्यापारभन्दा जनताकै सेवामा समय बिताउन आनन्द लाग्छ ।’

२०१८ सालमा जन्मेका बोहराले कक्षा १० सम्मको पढाइ पूरा गरेका छन् । २०४८ सालमा भने निर्विरोध वडाअध्यक्ष निर्वाचित भएको उनी सुनाउँछन् । उतिबेला वडाको बजेट ७ सय रुपँया मात्रै थियो । २०५४ मा गाविस अध्यक्ष हुँदा ३ लाख बजेट चलाउन पाएको र सो रकममा केही स्कुलका पूर्वाधार, बाटो, मन्दिर तथा कुलो निर्माण गरे ।

वडाध्यक्ष बोहराको वडामा पहिरोको समस्या छ । उनीसहित गाउँलेका घर र जमिन पहिरोले लगिसकेको छ । त्यहाँबाट पहिरोका कारण १ सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । सो ठाउँको प्राविधिकबाट अध्ययन गराई परिपक्व तटबन्ध लगाउने उनको योजना छ । तर, त्यसका लागि करोडौं लगानी अवश्यक भएकाले गाउँपालिकाको रकमबाट सम्भव नभएको हुँदा प्रदेश संघ सरकारलाई आह्वान गरे पनि काममा सफल भएका छैनन् ।

आफ्नै घरसमेत पहिरोले बांगो बनाइसकेको स्थानीय सुरेश श्रेष्ठ बताउँछन् । ‘हाम्रा वडाअध्यक्ष रातदिन नभनी जनसेवामा लागेको छ, उनले जनताको कामका लागि आफ्नो व्यापार व्यवसाय छोडेका छन्,’ उनले भने, ‘तर प्रक्रिया मिचेर भने कहिल्यै पनि काम गर्नुहुन्न । उहाँको यहीँ बानीले जनताको मन जित्ने गर्छ ।’ गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...