२१ बैशाख २०८१, शुक्रबार

‘मिसन ग्रासरुट’- एमालेको कमजोरी समीक्षा गर्ने औजार

uml office

नेकपा (एमाले)ले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानलाई पार्टीको आन्तरिक कमजोरीको समीक्षा गर्ने औजारका रूपमा लिएको छ । पार्टी विभाजन र नेताहरुबीच आन्तरिक बेमेलसँगै निर्वाचन परिणामले दिएको धक्कापछि कमजोरी केलाउँदै संगठन सुदृढीकरणका लागि एमालेले यो अभियान चलाएको हो ।

पार्टीका आन्तरिक कमी महसुस औंल्याउन र सांगठनीक शुद्धीकरण तथा सुदृढीकरणका लागि गत फागुन ५ बाट शुरू गरिएको ‘मिसन ग्रासरुट’ अभियान वैशाख ९ सम्म चल्नेछ । सत्ताबाट बाहिरिएको दुई वर्षपछि आफ्ना एजेन्डा कार्यकर्तामाझ लैजान र संगठनको वास्तविक अवस्था बुझ्न यो अभियान चलाएको नेकपा (एमाले)का नेता विशाल भट्टराईले बताए ।

‘मिसन ग्रासरुट अभियानले पार्टीको नीति कार्यक्रम र योजनाहरु दूर दराजका जनतामाझ पुगेको छ’, उनले भने– ‘७७ जिल्ला, ७ सय ५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडा तह र १० हजारभन्दा बढी टोल बस्तीहरूमा पुगेर पार्टी संगठनको वास्तविक चित्र हेर्ने काम भएको छ ।’ ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत सदस्यता व्यवस्थापन, सांगठनिक गतिविधि, जनसंगठनहरुको अधिवेशन, निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण र पार्टीसँग अन्तरसंवाद, ज्येष्ठ कम्युनिस्ट सम्मान कार्यक्रम, पार्टीभित्रको अन्तरविरोधको अवस्था बुझेर हल गर्ने, एक कमिटी एक रचनात्मक कार्यक्रमलगायत १२ वटा कार्यादेशसहित नेताहरू खटाएको उनको भनाइ छ ।

अभियानमा पार्टीलाई धोका दिएका, पार्टी छाडेका, अन्य दलहरुमा गएका र नियमित लेबी नबुझाउनेहरुलाई शुद्धीकरण गर्ने गरिएको भट्टराईले बताए । ज्येष्ठ कम्युनिस्ट, पार्टीलाई सहयोग गरेका चन्दादाता, पार्टी संगठनलाई अप्ठ्यारो परेको बेला निरन्तर खटेर सहयोग गरेका पुराना व्यक्तिहरूलाई सम्मानसमेत गरिएको उनको भनाइ छ ।

चुनावपछि पनि नेकपा एमाले जनतामाझ नै रहेको पुष्टि गर्दै पार्टी सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणबाट निस्किएका यकिन सदस्यहरू मात्रै पार्टीको सदस्यता सूचीमा सूचीकरण गरिने बताइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।