१७ बैशाख २०८१, सोमबार

बालेनको अभिव्यक्तिमा प्रमुख दलहरूको आपत्ति

balen 1
फाइल फोटो

सुकुम्वासी बस्ती हटाउने विषयमा गृह मन्त्रालयबाट सहयोग नपाएपछि असन्तुष्ट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शनिबारदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्ने लेखेका छन् । गत साता उपमेयरहरूको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका महानगर प्रमुख शाहले शनिबार सिंहदरबारको फोहोर नउठाउने भनेका हुन् । शुक्रबार मात्रै काठमाडौंको गैरीगाउँमा महानगरले अनधिकृत बस्ती हटाउन डोजर पठाएको थियो । स्थानीय सुकुम्वासीले सडकमा टायर बालेर नाराबाजी र अवरोध गरेपछि महानगरको डोजर फर्केको थियो ।

सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालय मातहतको नेपाल प्रहरीको सहयोग नपाएको उनले गुनासो गर्दै आएका छन् । वाग्मती किनारको सुकुम्वासी बस्ती हटाउने विषयमा महानगर र सरकारका अन्य निकायबीच मतान्तर र द्वन्द्व देखिँदै आएको छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले प्रमुख शाहको फेसबुक स्टाटसप्रति अनभिज्ञता प्रकट गरे । उनले यस विषयमा आफूले बोल्न नमिल्ने भन्दै थप प्रतिक्रिया दिन मानेनन् ।

सामाजिक सञ्जालमार्फत प्रमुख शाहले नेताहरूप्रति गरेको टिप्पणीलाई कसैले समर्थन जनाएका छन् भने कतिपयले विरोध गरेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन्द्रको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको टिप्पणी गरेका छन् । उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नै पर्ने सुझाव दिएका छन् ।

पूर्व प्रशासक लीलामणि पौडेलले बालेन्द्रलाई ट्विटरमा जवाफ फर्काउँदै लेखेका छन्– फोहर व्यवस्थापनमा तपाईंबाट बढी नै अपेक्षा थियो तर अहिलेसम्मको कामबाट खासै उत्साही हुन सकिएन । उनले बिनातयारी फोहर वर्गीकरणको सूचना निकालेर कार्यान्वयन नै नगरेको बताएका छन् । गैरकानुननी ढङ्गले ४ अर्बको कारोबार गर्ने संस्थालाई कानुनको दायरामा ल्याई जिम्मेवार बनाउने काम केबल महानगर प्रमुखकै रहेको उनले स्मरण गराइदिएका छन् ।

मुटुरोग विशेषज्ञ रामेश कोइरालाले फोहोर व्यवस्थापन पालिकाको काम हो कि संघीय सरकारको ? भनेर प्रतिप्रश्न गरेका छन् । उनले फोहोरको राजनीति र घूस सबैले बुझ्छन् भनेर कटाक्ष गरेका छन् ।

लेखक राजेन्द्र महर्जनले सहरका गरिब सुकुम्वासी देखेपछि शाह त तानासाह नै हुन खोज्छन् र डोजर लिएर बस्ती उजाड्न पुगिहाल्छन् भन्ने आरोप लगाएका छन् ।