१७ बैशाख २०८१, सोमबार

सरकार मात्रै ढुक्क छ, अरु छैन : अध्यक्ष ओली

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिवद्धताको वर्षा मात्र गर्ने गरेको टिप्पणी गरेका छन् । मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक संकटतिर धकेलिएको बताए । ‘रेमिट्यान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विज्ञहरुले भनिराखेका छन्’, उनले अघि भने, ‘सरकार मात्रै ढुक्क छ, अरु कोही ढुक्क छैन ।’

कसैले तारा झारदेउ भन्यो भने तारा मात्रै होइन, जून पनि झारी दिउँला भने जसरी प्रधानमन्त्री प्रस्तुत हुने गरेको उनले बताए । ‘प्रधानमन्त्रीज्यू तपाईँहरुको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ’, उनले भने, ‘भन्न केही बाँकी राख्नु हुन्न, कमिटमेन्टको वर्षा हुन्छ ।’

एमाले अध्यक्ष ओलीले सहकारी बदनाम भएको भन्दै ध्यान दिन सहकारी अभियन्ताहरुलाई आग्रह गरे । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले पनि ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘सहकारी बद्नाम हुन नपाओस् किनभने विश्वास धर्मरायो भने मानिसहरु कसरी सहकारीमा जान्छन् ?’

सहकारीमा कमजोरी भए सत्याउनु पर्ने, तर एकाधलाई दृष्टान्त बनाएर सबै खराब हुन भन्न नहुने उनले बताए । ‘सबै सहकारी बिग्रेको छ र रु एउटा कुनै बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ’, उनले भने, ‘त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनुपर्छ ।’

उनले सहकारीहरुलाई पनि अनाआवश्यक खर्च कटौती गर्न र उत्पादनमूलक काममा लगानी गर्न आग्रह गरे ।