१७ बैशाख २०८१, सोमबार

मन्त्री किराती भन्छन् – हप्तामा एक मन्त्रीले ६ लाखको ‘खादा-माला’ लगाउँछन्

Sudan Kirati
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक मन्त्रीको स्वागत सत्कारमै हप्तामै लाखौँ रुपैयाँ खर्च भइरहेको बताएका छन् । शनिबार पोखरामा होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनमा बोल्दै मन्त्री किरातीले खादा माला नलगाउन उद्घोष गरे पनि भेट्न आउँदा ल्याइदिने गरेकासँग सामाजिक अभियान सञ्चालन गरेको बताए ।

‘जबरजस्ती माला खादा बोकेर आउने साथीहरूका लागि मैले अभियान सञ्चालन गरे । माला खादा किन्ने पैसाले दुर्गम गाउँको शिक्षामा लगेर सहयोग गर्न अभियान सञ्चालन गरे । ७ दिनमा ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भयो,’ मन्त्री किरातीले भने, ‘तपाईंहरू भन्नुस् । एक जना मन्त्रीले ७ दिनमा ६ लाखको खादा लगाउँछन् भने केन्द्र सरकारका २५ मन्त्रीले एक दिनमा कति लाखको खादा माला लगाउँछन् ?’

संघ, प्रदेश र स्थानीय तहका ३६ हजार १ सय ५५ जना जनप्रतिनिधिहरूले एक दिनमै करोडौँको खादा माला लगाउने गरेको उनको भनाइ छ । संवैधानिक, कानुनी र सुरक्षा फोर्सका मान्छेले सम्मान थाप्दै गए दैनिक करोडौँ अर्बौँ रुपैयाँ खर्च हुने उल्लेख गरे ।

पोखराको सेती खोँचमा यति एयरलाइन्सको प्लेन दुर्घटनापछि खादा माला लगाउन छोडेर अभियान सञ्चालन गरेको उनको भनाइ छ । ‘मन्त्रीको पदभार ग्रहण गरेपछि पोखराको सेती खोँचमा स्वदेशी तथा विदेशी गरी ७२ जनाले ज्यान गुमाए । त्यहीँ मन्त्रालयको तालुकदार मन्त्री चाहिँ माला खादा लगाउनुहुँदैन भनेर म आफूले माला खादा लगाइनँ ।’

म भन्दा बुढो पर्यटन ऐन बोकेर हिँड्दै छु

मन्त्री किरातीले आफूभन्दा बुढो पर्यटन ऐन बोकेर हिँड्न अप्ठ्यारो भएको बताए । उनले आफू भन्दा बुढो पर्यटन ऐनले केही परिवर्तन गर्न नसकेको सुनाए । ‘आफू भन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्नुपरेको छ । यसले केही हुनेवाला छैन । समय सापेक्ष ऐन आवश्यक छ,’ उनले भने । उनले आगामी बजेटमा पर्यटन आकर्षित गर्न विभिन्न कार्यक्रमहरू ल्याउने योजनामा रहेको सुनाए ।

‘आन्तरिक पर्यटनलाई आकर्षित गर्न कार्यक्रम, योजना नारा बनाइरहेका छौँ । विदेश भन्दा पहिला पूर्वदेखि पश्चिमका पर्यटकीय क्षेत्रहरू घुम्ने वातावरण बनाउन सरकार लागि परेको छ,’ उनले भने ।

    सम्बन्धित समाचार...