१८ बैशाख २०८१, मंगलवार

संसद्‌मा पहिलो दिन नै संसद् विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गरे: प्रधानमन्त्री दाहाल

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा पहिलो दिन नै संसद् विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै उनले स्पष्टीकरण दिएका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद्‌मा पहिलो दिन नै संसद् विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको दाबी गरे । ‘व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा संसद्‌मा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित भयो,’ उनले भने, ‘त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक । मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन ।’

प्रधानमन्त्री दाहालले राष्ट्रपतिजस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको अवस्थामा आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ सुरुवात गरेको दाबी गरे । ‘दुई-दुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता एवं संसद्‌को स्थायित्वमै प्रश्नचिह्‍न खडा गर्‍यो । दुःखका साथ भन्नुपर्छ, लगभग सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसद्‌को विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती थियो,’ उनले भने, ‘अर्कातिर राष्ट्रिय सहमतिका लागि मेरो निरन्तर प्रयासले पनि गठबन्धनको प्रमुख दलबाटै समर्थन पाएन । प्रधानमन्त्रीका रुपमा मैले संसद्‌बाट लगभग राष्ट्रिय सहमतिको समर्थन पाएँ । त्यो ऐतिहासिक समर्थनप्रति कृतज्ञता जनाउन र राष्ट्रका संकटहरूको सामना गर्न पनि मैले राष्ट्रिय सहमतिमै जोड दिनुपर्ने नै थियो । राष्ट्रपतिजस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको पृष्ठभूमिमा मैले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ सुरुवात गर्न चाहें ।’

प्रधानमन्त्री दाहालले छोटो अवधिमा धेरै उल्लेखनीय काम भएको दाबी गरे । उनले सो अवसरमा बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवर्द्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको जनाए । ‘संसद्‌को सबैभन्दा ठूलो पार्टीको हैसियतले समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर नेकपा एमालेका अध्यक्षसँग अनुरोध पनि गरेँ । त्यसले राजनीतिक सन्तुलन पनि कायम हुन्छ भन्ने मेरो तर्क थियो । हो, परिणाममा त्यसो हुन सकेन । हामीले सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चुन्न सकेनौं । तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा कुनै खोट थिएन । म आज सम्मानित सदनलाई सोध्न चाहन्छु, मेरो त्यो चाहना कमजोरी थियो कि राष्ट्रप्रतिको जिम्मेवारीबोध ? सभामुख महोदय, मैले संसद्‌सँग वाचा गरेको थिएँ, म हरेकपटक रिपोर्ट-कार्डका साथ उपस्थित हुनेछु । एमाले र राप्रपाका मन्त्रीहरूले सरकार छाडेपछिको गतिरोधले प्रभाव नपरेको भए सरकारका उपलब्धिको सूची अझ फराकिलो हुने थियो । तैपनि, यो छोटो अवधिमा थुप्रै उल्लेखनीय काम भएका छन्,’ उनले भने, ‘म छोटकरीमा ती काम उल्लेख गर्ने अनुमति चाहन्छु । सरकारका नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा समेटिएका विषयको प्रभावकारी, परिणाममुखी र समयबद्ध कार्यान्वयनका लागि एकीकृत कार्ययोजना तयार भएको छ । अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका निर्णयहरू कार्यान्वयनमा लगिसकिएको छ । यसैको परिणामस्वरुप केही आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजा देखिएको छ ।’

खर्च नियन्त्रणका लागि अत्यावश्यकबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको उनको भनाइ छ । ‘अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा छ । तरलता सङ्कुचनको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमन आदि क्षेत्रमा उत्साहजनक प्रगति छ । ब्याजदर घटिरहेको छ । सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेटको पुनर्विन्यासको काम सुरु भइसकेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘खर्च नियन्त्रणका लागि अत्यावश्यकबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ । बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवर्द्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको छ ।’

प्रधानमन्त्री दाहालले नेपालले एकीकृत रुपमा फरक ढंगले सोच्न थालेको सन्देश दिनु आवश्यक रहेको धारणा राखे ।