२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै

prachanda pm
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

पहिलो पटक नेकपा (एमाले)लगायतका दलहरूको समर्थनमा सरकार बनाएका प्रचण्डले सदनमा उपस्थित सङ्ख्याको झन्डै ९९ प्रतिशत सांसदको विश्वास मत पाएका थिए। तर एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमालेलगायतका केही दलको मत नपाउने अवस्था छ। प्रमुख प्रतिपक्षी दल एमालेले विश्वासको मतबारे संस्थागत निर्णय गरिसकेको छैन। तर नेताहरूले भने मत नदिने बताउँदै आएका छन्। सरकारबाट बाहिरिएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

वर्तमान गठबन्धनमा आबद्ध अन्य दलहरूले विश्वासको मत दिने राजनीतिक सहमति शनिबार नै गरिसकेका छन्। नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले मत दिने निर्णय गरिसकेका छन्। कांग्रेस र एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेसमेत निर्णय गरिसकेका छन्। दुवै दल आइतबारदेखि नै संसद्को सत्तापक्षको स्थानमा समेत बसेका छन्।