२२ बैशाख २०८१, शनिबार

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

ss

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाएका हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपालको पहिलो एवं पूर्वराष्ट्रपति डा. रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।

यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री दाहालले निर्वतमान उपराष्ट्रपति पुनलाई मायाको चिनो प्रदान गरेका थिए ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।

प्रमुख प्रतिपक्षी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

राष्ट्रप्रमुखपछि दोस्रो मर्यादा क्रममा रहने उपराष्ट्रपतिको काम कर्तव्य र अधिकार संविधानले नै तोकेको छ । उपराष्ट्रपतिको भूमिकाबारे संविधानको धारा ६७ मा भनिएको छ- ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने छ ।’ संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने धारा ७० मा व्यवस्था गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो ।

    सम्बन्धित समाचार...