१६ बैशाख २०८१, आईतवार

माओवादी शक्तिहरु एक ठाउँमा उभिएर एकपटक लाखौं जनता सडकमा उतार्ने प्रचण्डको उद्घोष

p

 प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनको प्रभाव बुझेर नै प्रतिक्रियावादीहरुले घेरा हाल्ने र षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले आफूहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले एकपटक माओवादी शक्तिहरु एक ठाउँमा उभिएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरु भाग्ने दाबी गरे ।

उनले माओवादी शक्तिहरु एकजुट हुँदा विजय हाँसिल गर्नसक्ने औंल्याए । आज (आइतबार) काठटमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा राष्ट्रिय विदा दिने निर्णय गरेको स्मरण गराए ।

उनले आफू तेस्रो पटक प्रधानमन्त्रीको रुपमा आउँदा माओवादी आन्दोलनका पक्षमा निर्णय लिएको सुनाए । उनले कसैले दबाएर माओवादी आन्दोलन नदबिने टिप्पणी गरे । उनले आफूले लिएको निर्णयबाट प्रतिक्रियावादीहरु तर्सिएको टिप्पणी गरे । उनले माओवादीहरु एक ठाउँमा उभिनुपर्ने दिन आएको सुनाए ।

उनले आफू जनयुद्धको कमाण्डरको रुपमा देशी तथा विदेशी शक्तिको विरुद्धमा आफू लडिरहेको सुनाए । उनले आफूजस्तै बाबुराम, विप्लव र धर्मेन्द्रहरुले पनि लडाई लडिरहेको जिकिर गरे । उनले आफूहरुको रुप धेरै भएपनि सार भने एउटै रहेको जिकिर गरे ।