२८ बैशाख २०८१, शुक्रबार

एमालेले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने, पक्षमा मतदान गर्न माओवादीको निर्देशन

kamal bahadur shah

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सुदूरपश्चिम एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो । एमालेका प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकका अनुसार एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

गत २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । त्यसको लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

यसैबीच, शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ। शक्ति बाँडफाँडमा सहमति हुनु पर्ने अडान लिँदै यथास्थितिमा विश्वासको मत नदिने माओवादी संसदीय दलको शनिबार बसेको बैठकले निर्णय गरेको थियो । तर केन्द्रबाटै विश्वासको मत दिनू भनेर निर्देशन आएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

माओवादीका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले शाहलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत दिने निश्चित छ ।

माओवादीले पनि विश्वासको मत दिने सुनिश्चित भएसँगै शाह नेतृत्वको सरकारले स्पष्ट बहुमत पाउने भएको छ ।

    सम्बन्धित समाचार...