५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले पुरानै गठबन्धन ब्युँताउनेगरि अघि बढेका हुन् ?

gathabandhan
फाइल फोटो

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनअघिको गठबन्धन ब्युँताउने पक्षमा पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दाहाल पुरानै गठबन्धन ब्युँताउनेगरि अघि बढेका छन् । त्यसको लागि उनले आज साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने तयारी गरेका छन् ।

हिजो मात्रै दाहालले शेरबहादुर देउवा, माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । साँझ काँग्रेस सभापति देउवासहित नेताहरू गगन कुमार थापा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्कासँग पनि प्रचण्डले सामूहिक भेटवार्ता गरेका थिए । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो ।

काँग्रेस नेताहरूले राष्ट्रपतिमा आफूहरूले उठाउने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले काँग्रेसको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै आज पदाधिकारी बैठकमार्फत छलफल चलाउने वचन दिएका छन् । पुस १० गते सरकारको नेतृत्वको लागि दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने भनिएको छ ।

तर, माओवादी केन्द्रका नेताहरूले भने त्यस्तो सहमति नभएको दाबी गर्दै आएका छन् । सभामुख भने एमालेबाट देवराज घिमिरे निर्वाचित भैसकेका छन् । अढाई वर्षपछि ओली प्रधानमन्त्री बन्ने सहमति छ । अहिले राष्ट्रपति पनि एमालेले पाउँदा शक्ति सन्तुलनमा एमाले हाबी हुने भय दाहालमा छ । प्रचण्ड कुनै पनि हालतमा एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनन् । उनले आजै साँझबाट पुरानो गठबन्धन ब्युँताउने तयारी गरेका छन् ।