२६ बैशाख २०८१, बुधबार

सुस्ताएको नेपाली बक्सअफिसमा ‘फूलबारी’ले दर्शक फर्कायो

Fulbari Nepali movie1

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’ले बक्सअफिसमा दर्शक फर्काएको छ ।

महापुरुष यता सुस्ताएको नेपाली बक्सअफिस महाशिवरात्रीको विदामा भने हाउसफुल रह्यो । रामबाबु गुरुङ निर्देशित फिल्मले शुक्रबारै मध्यम व्यापार गरेर राम्रो संकेत दिएको थियो ।

प्रिमियर र शुक्रबार प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको व्यापारमा सहयोग पुर्यायो । शनिबार बिहानी शोजमा ५० प्रतिशत आसपासको अकुपेन्सी पाएको फिल्म दिउँसोदेखि बेलुकासम्म हाउसफुल रह्यो । कति हलमा दर्शक टिकट नपाएर फर्केका थिए ।

आइतबार क्युएफएक्सले १०, एफक्युबले ३, बिएसआर मुभिजले २, वान सिनेमाजले २ र सिनेप्लेक्स मुभिजले १ शो थप गरेका थिए ।

फिल्मको शनिबार र आइतबारको व्यापार उत्साहजनक रहेको वितरक गोविन्द शाहीले बताए । ‘महाशिवरात्रीको विदामा दर्शक हलसम्म पुग्नु भएको छ । काठमाडौँदेखि देशैभर फिल्मले हाउसफुलको व्यापार गरिरहेको छ । मल्टिप्लेक्सदेखि सिंगल थियटरसम्म दर्शकको चाप छ । फिल्मको ‘वर्ड अफ माउथ’ दमदार भएकाले यसले बक्सअफिसमा लामो रेस पुरा गर्नेमा आशावादी छौं ।’ शाहीले भने ।

‘फूलबारी’ हेर्न आइतबारपनि दर्शकको चाप देखिएको छ । बिहानी शोमा ४०-५० प्रतिशत अकुपेन्सी पाएको फिल्मका दिउँसोका शो हाउसफुल नजिक पुगेका छन् । बेलुकाका शो हाउसफुल हुने प्रक्रियामा छन् । सम्भवतस् बेलुकाको शो पूर्ण भएर प्रदर्शन हुनेछन ।

पारिवारिक कथा पस्किने फिल्मलाई दर्शकले उत्कृष्ट भनिरहेका छन् । हलमा सपरिवार सिनेमा हेर्नेको चाप देखिएको छ । भने प्राय उमेर समूहलाई यसले आकर्षित गरेको छ । दर्शकले यसलाई मनछुने पारिवारिक कथा भनेका छन् । कतिले फिल्म हेरिरहँदा आशुँ थाम्न नसकेको प्रतिक्रिया दिएका छन् ।

हेर्ने जति दर्शकले फिल्म रुचाएकाले आउँदा दिनमा ‘फूलबारी’ले राम्रो व्यापारलाई निरन्तरता दिने लक्षण देखाएको छ । मंगलबार परेको ग्याप्लो ल्होसारले फिल्मको व्यापारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

फिल्ममा विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको फिल्ममा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

    सम्बन्धित समाचार...