२० बैशाख २०८१, बिहीबार

फागुन १९ गते तीन वटा ग्याङको लडाइँ

anmol

अनमोल केसी स्टारर नेपाली फिल्म ‘छड्के–२’ रिलिजको सँघारमा छ । फागुन १९ गते रिलिज हुने फिल्मको मुख्य भूमिकामा अनमोल केसी छन् ।

अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो फिल्म प्रतीक्षित बनेको छ । अनमोलको स्टारडमका कारण पनि फिल्म प्रतीक्षित बनेको हो । अनमोल नेपाली कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक हुन् । त्यसैले उनका हरेक फिल्म दर्शकमाझ प्रतीक्षित बन्ने गरेका छन् ।

ग्याङ स्टारको कथा भन्ने फिल्म ‘छड्के–२’ले तीन वटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको कथा भन्छ । जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीन वटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन् । जसको शरीरभरि ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेका अहिलेसम्म बाहिर आएका फिल्मका कन्टेन्टले देखाएका छन् ।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको लडाइँ दर्शकले फागुन १९ मा देख्ने छन् । ग्रिन ग्याङको नेता अनमोल छन् । उनी मेनडगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर फिल्म हो । यी तीन वटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बामा आफ्नो पकड जमाउँछ त्यो भने हेर्न बाँकी नै छ ।

फिल्ममा मनाङको सुन्दर पठार देखिने छ । यो फिल्ममा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमाली भेगको सुन्दरता पनि देखिने छ ।

निगम श्रेष्ठको निर्देशक रहेको फिल्मका लेखक पनि उनी स्वयं हुन् । “स्थानीय स्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोग कसरी भइरहेको छ भन्ने यो फिल्मले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बाको कथा भनेका छौँ, यो त एउटा प्रतिनिधि घटना मात्रै हो,” निर्देशक श्रेष्ठ भन्छन्, “देशका हरेक प्राकृतिक स्रोतमा स्थानीय स्तरमा यस्तै लडाइँ झगडा हुने गरेको छ ।

आआफ्नो ग्याङ बनाएर त्यस्तो स्रोत हत्याउने काम भइरहेको छ । यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो फिल्मले देखाउने छ ।” यी नै ग्याङ जसले निर्वाचनमा नेताहरूले आफ्नो जितका लागि प्रयोग गर्छन् । जसका कारण उनीहरूको संरक्षण गर्नु उनीहरुको नैतिक धर्म पनि हो । त्यसैले नेताकै आडमा यस्ता समूहले समाजमा गुण्डागर्दी गर्ने गरेको बताउने निगम यही कथा फिल्मले भन्ने बताउँछन् । फिल्मको ट्रेलर यही बुधवार सार्वजनिक हुँदै छ ।

फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायत कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी, लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

    सम्बन्धित समाचार...