लेग स्पिनर सन्दीप लामिछानेले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी टि२० विश्वकपमा खेल्ने बाटो खुलेको छ ।
जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका क्रिकेटर लामिछानेले आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्ने पक्का भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीले सन्दीपको नाम समेटेर अन्तिम टोली घोषणा गर्न स्वीकृति दिएको बताए । लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको र हस्टनमा हुने दुईवटा अभ्यास म्याचसमेत खेल्ने गरी पठाउन लागिएको जानकारी दिए ।
चन्दले भने, ‘अब क्यानले उनलाई अमेरिका भ्रमणमा पठाएर टोलीमा समेट्ने वा नसमेट्ने अन्तिम निर्णय लिनेछ । आइसीसीले मे २४ तारिखसम्म अन्तिम खेलाडी सुची पठाउन भनेको छ । सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको छ । अब ह्युस्टनमा मे २२ मा हुने पहिलो तयारी खेल भ्याउने हिसाबले उनलाई अमेरिका पठाउने तयारीमा छौं।’
अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने नेपाली टिम भने यसअघि नै अमेरिका पुगिसकेको छ ।
जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएर काठमाडौं जिल्ला अदालतबाट आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध उनले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।
सफाइ पाएलगत्तै बुधबार नै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो । विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । बिहीबार छलफलबाट सकारात्मक जवाफ आएको हो ।