२३ बैशाख २०८१, आईतवार

‘प्रतिगमन र अग्रगमन कसरी एकै ठाउँमा हुन सक्छन् ?’

Matrika Yadav
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री मात्रिका यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति तोडेको आरोप लगाएका छन् ।

‘पुस १० मा त्यस्तो कुनै ठोस सहमति भएको होइन । हाम्रो अध्यक्ष कमरेडले छलफल गर्दै जाऊँ भन्नुभएको हो । कुनै मौखिक समझदारी भएको थियो भने पनि त्यो कुरा केपी ओलीले तोडिसक्नुभएको छ । प्रतिगमन उहाँबाटै भएको हो । यो कुरा हामीले मात्र होइन, देशले भनेको छ, सर्वोच्च अदालतले पनि भनेको छ । संसदमा यसबारे नबोल्ने समझदारी भएको थियो । उहाँले उल्टै प्रतिगमनको वकालत गर्नुभयो । अब प्रतिगमन र अग्रगमन कसरी एकै ठाउँमा हुन सक्छन् ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले भने ।

नेता यादवले प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा राष्ट्रिय सहमति बनिसकेकाले अब राष्ट्रपतिको निर्वाचनमा पनि त्यस अनुसार जानुपर्ने औंल्याए । उनले थपे, ‘प्रचण्ड एउटा गठबन्धनबाट प्रधानमन्त्री हनुुभयो । तर विश्वासको मत लिने बेला राष्ट्रिय सहमतिको प्रधानमन्त्री बनिसक्नुभएको छ । अब राष्ट्रपति चाहिं एउटा दलको उम्मेदवारलाई कसरी बनाउने ? राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो । शान्तिप्रक्रिया पूरा भएको छैन, संविधानको कार्यान्वयन बाँकी छ ।’

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति एमालेको उम्मेदवार पनि हुन सक्ने उनले बताए । यादवले थपे, ‘ओलीजीले चाहेर मात्र त भएन नि । मुलुकको आवश्यकता पनि हेर्नुपर्छ । ओलीजीको बुद्धि नपुगे सबै गुमाउनु पर्ने हुन्छ । देउवाजीले जे गल्ती गर्नुभयो, त्यसले कांग्रेसको दुर्दशा भएको छ । ओलीजीले इच्छा राख्दैमा सबैले मान्नुपर्छ भन्ने छैन ।’

यसपटक मधेसी राष्ट्रपति बन्ने सम्भावना नरहेको पनि उनले ठोकुवा गरे । यादवले भने, ‘यसपालि मधेसीको पालो गयो । हामीले राष्ट्रपतिमा रामराजा प्रसाद सिंहलाई उठाएकाले कांग्रेसले रामवरण यादवलाई ल्यायो । त्यतिबेला हामीसँग सहमति गरेर कतिपय नेताहरुले धोका दिए ।’

    सम्बन्धित समाचार...