२२ बैशाख २०८१, शनिबार

दूत बनेर नेताहरूको ओहोर-दोहोर: रविको कारण प्रचण्डले खोजे माधवको साथ

prachanda lMadhav Nepal
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले माधव नेपालको साथ खोजेका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको छ । सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको थाहा पाएपछि दाहालले सरकारमा नेकपा (एकीकृत समाजवादी) लाई समावेश गर्न चाहेका छन् ।

हिजो नै एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेर केन्द्रीय समिति र संसदीय दलको बैठक राखेकै समयमा पौडेल माओवादी हेडक्वार्टर पुगेका थिए । सो क्रममा सरकारमा सहभागिताबारे छलफल भएको बताईएको छ ।

आजमात्रै प्रधानमन्त्री दाहालले पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् आफ्नो क्याविनेटका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई दूत बनाएर माधव नेपालसँग भेटवार्ता गर्न पठाएका छन् । श्रेष्ठ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर माधव नेपालसँग महत्वपूर्ण भेटवार्ता गरेका हुन् । दाहाल अहिलेको गठबन्धन भत्कियो भने कांग्रेससहितको नयाँ गठबन्धन बनाउनेगरि अघि बढेका छन् ।

रास्वपाले सरकारबा रहने वा नरहने भन्नेबारे भोलिसम्ममात्रै प्रधानमन्त्री दाहाललाई पर्खने भनेको छ । रास्वपाले गृहमन्त्रालय आफ्नो दलले पाएकोले त्यसमा दायाँबायाँ हुन नपाउने उसको जिकिर छ । तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा सो मन्त्रालय अन्य दललाई नदिने निश्कर्षमा पुगेका छन् ।

बालुवाटारनिकट स्रोतले रास्वपाले आफ्नो अडान यथावत राखेको खण्डमा गठबन्धन नयाँ बन्नेसम्मको दाबी गरेको छ । प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बुझिएको छ। देउवासँग राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताईएको छ।

यसको साथै, सरकारमाथि संकट आईपरे कांग्रेसको साथ लिने उनको तयारी छ । यसमा सभापति देउवाले पनि सहयोग गर्ने वचन दिएको बुझिएको छ । अहिलेको गठबन्धन भत्किए मंसिर ४ गतेसम्म कायम रहेको पूरानै गठबन्धन व्यँुतिने अड्कलबाजी भैरहेको छ । त्यसमा उपेन्द्र यादवको जसपापनि मिसिने छ ।